गोरखापत्र अनलाइन
काठमाडौँ, माघ २४ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) काठमाडौँ शाखाको २२ औं साधारण सभा सम्पन्न भएको छ । शनिबार काठमाडौँमा आयोजित साधारण सभाको उदघाटन सङ्घीय अध्यक्ष लक्की चौधरीले गर्नुभएको थियो ।
कार्यक्रममा सङ्घीय अध्यक्ष लक्की चौधरीले आदिवासी जनजाति पत्रकारहरूको माग र मुद्दामा सरकार अझै गम्भीर नभएको बताउँदै माग सम्बोधन गराउनमा सामुहिक प्रयासको खाँचो रहेको बताउनुभयो । ‘मातृभाषी पत्रकारमाथि सरकारको हेर्ने दृष्टिकोण अहिले पनि विभेदकारी छ। आदिवासी जनजाति पत्रकारको क्षमता बृद्धि, मातृभाषा पत्रकारिताको प्रवर्धनमा सरकारले लगानी बढाउनुपर्छ’ उहाँले भन्नुभयो ।
काठमाडौँ शाखा सङ्घीय राजधानीको मुटुमा रहेकाले यसको गतिविधि अन्य शाखाको तुलनामा अझ प्रभावकारी बनाउन उहाँले शाखाका पदाधिकारी तथा सदस्यहरूलाई निर्देशन दिनुभयो ।

नेपालको पत्रकारितामा वि.स. २००८ सालमा तत्कालीन पत्रकार सङ्घको स्थापना गर्न सत्यनाराणबहादुर श्रेष्ठले योगदान दिनुभए पनि महासङ्घले संस्थापक स्वीकार नगर्नु उहाँप्रति बेइमानी भएको भन्दै पहलका लागि सबै पत्रकार एक भएर लाग्नुपर्ने बताउनुभयो ।
फोनिज काठमाडौं शाखाका अध्यक्ष भीमबहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा फोनिज काठमाडौँ शाखाका कोषध्यक्षले आर्थिक प्रतिवेदन र सचिव रत्नकाजी महर्जनले साङ्गठनिक प्रतिवेदन पेस गर्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेशका महासचिव राजु नापितले साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।