• २४ माघ २०८२, शनिबार

छरिएको माया (कविता)

blog

इज्या बैतडी टाढा रहिन, स्मृतिमा दीप झल्कन्छन,

आशीषको उज्यालोले नै जीवनपथ टल्कन्छन ।

चितवनतिर मायालु, सास सासमा बाँधिएकी,

आँखा चिम्लिँदा पनि उही अनुहार देखिएकी ।


छोरी मामाघर रम्छे, बाबाको काख सम्झी,

सपनामा रुँदै बोल्छे, न्यानो अँगालो खोजी ।

मुगुको शून्य रातमा चिसो हावा साक्षी छ,

निद्रा भागी टाढा रह्यो, मनभित्रै घाउ छ ।


हिमाल–पहाड–तराई, मन चारैतिर छरियो,

एकै घरको मायाले चार दिशा नै भरियो ।

फोनको स्क्रिन अँध्यारो, सम्झना बल्झिँदै गयो,

शब्द नबोली पनि प्रेम बोलिरहेकै रह्यो ।


कर्तव्यको भारी बोकी टाढा बस्नुपर्दा,

परिवारको अर्थ झन् गहिरिएर झर्दा ।

रात साक्षी बनी बस्यो, आँसु मनमै लेखिए,

भोलिको उज्यालो खोजी आशा फेरि देखिए ।


एक दिन फर्किने आशा छ, थकित पाइलाले हिँड्दै,

माटोको सुगन्ध बोकी घरको आँगन छुँदै ।

इज्याको आशीष शिरमा, बाबुको माया छ मनमा,

मायालु मुस्कान भेटी बिर्सिनेछन् सबै ति दिनमा ।


छोरीको न्यानो अँगालो, सबै पीडा बगाउने,

थाकेका यी कर्तव्यलाई क्षणमै हलुका बनाउने ।

त्यो दिनको प्रतीक्षामा आज धैर्य सँगालेर,

अँध्यारो काट्दै हिँडिरहेँ उज्यालोको बाटो समालेर ।