इज्या बैतडी टाढा रहिन, स्मृतिमा दीप झल्कन्छन,
आशीषको उज्यालोले नै जीवनपथ टल्कन्छन ।
चितवनतिर मायालु, सास सासमा बाँधिएकी,
आँखा चिम्लिँदा पनि उही अनुहार देखिएकी ।
छोरी मामाघर रम्छे, बाबाको काख सम्झी,
सपनामा रुँदै बोल्छे, न्यानो अँगालो खोजी ।
मुगुको शून्य रातमा चिसो हावा साक्षी छ,
निद्रा भागी टाढा रह्यो, मनभित्रै घाउ छ ।
हिमाल–पहाड–तराई, मन चारैतिर छरियो,
एकै घरको मायाले चार दिशा नै भरियो ।
फोनको स्क्रिन अँध्यारो, सम्झना बल्झिँदै गयो,
शब्द नबोली पनि प्रेम बोलिरहेकै रह्यो ।
कर्तव्यको भारी बोकी टाढा बस्नुपर्दा,
परिवारको अर्थ झन् गहिरिएर झर्दा ।
रात साक्षी बनी बस्यो, आँसु मनमै लेखिए,
भोलिको उज्यालो खोजी आशा फेरि देखिए ।
एक दिन फर्किने आशा छ, थकित पाइलाले हिँड्दै,
माटोको सुगन्ध बोकी घरको आँगन छुँदै ।
इज्याको आशीष शिरमा, बाबुको माया छ मनमा,
मायालु मुस्कान भेटी बिर्सिनेछन् सबै ति दिनमा ।
छोरीको न्यानो अँगालो, सबै पीडा बगाउने,
थाकेका यी कर्तव्यलाई क्षणमै हलुका बनाउने ।
त्यो दिनको प्रतीक्षामा आज धैर्य सँगालेर,
अँध्यारो काट्दै हिँडिरहेँ उज्यालोको बाटो समालेर ।