शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विश्वासको चौतारी भत्किएको छ
बिरक्तिएको घाउ निको पार्ने बहानामा
भ्रमको गीत बेसुरे छ जताततै
हाँस्दा पनि उपहास गर्नेहरूको भिड
रुँदा काखी बजाउनेहरूको भिड
संसारको चलन नै यस्तो छ ।
कोही कसैको नहुने समयमा
आड, भरोसा र विश्वास
ऐनाबाहेक कहाँ कोही हुन सक्छ र ?
ऐना त प्रतिविम्ब हो यथार्थको
आफ्नो प्रतिछाया जस्ताको तस्तै देखाउने
रुँदा रुने, हाँस्दा हाँस्ने
नपत्याए ऐनाअगाडि आफूलाई उभ्याएर हेर त
हाँसेर हेर, रोएर हेर र लजाएर हेर
हरेक व्रिmयाकलापमा सामेल ऊ ।
विश्वास गरेर सबै कुरा भन त ऐनालाई
कसैलाई भन्दै भन्दैन
ऐनाको जस्तो स्वभाव कसको हुन्छ र ?
आमा हजुरआमाले भनेको
झलझली सम्झिरहेछु यसबेला
आफ्नो पिर कसैलाई नसुनाउनु
रुनुपर्दा बरु ऐनाअगाडि वह पोख्दै रुनु ।