नवराज नेपाली
बागलुङ (गलकोट), माघ २४ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बागलुङमा दुई हजारभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ । बागलुङमा निर्वाचन प्रहरी र नेपाल प्रहरी गरी दुई हजार नै सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको छ । निर्वाचनमा नेपाली सेना र शसस्त्र प्रहरी आवश्यकताका आधारमा खटिने तयारी भइरहेको छ ।
बागलुङमा कायम रहेको १०७ मतदानस्थल र २३० मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरु गरी दुई हजार ६० जना कर्मचारी खटाउने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । बागलुङमा २३० मतदान अधिकृत, २३० सहायक मतदान अधिकृतसँगै एउटा मतदान केन्द्रमा अन्य सात जनाका दरले एक हजार ६१० कर्मचारी परिचालन गरिने तयारी भएको निर्वाचन कार्यालय बागलुङका मुख्य निर्वाचन अधिकृत सिता शर्मा अधिकारीले जानकारी दिनुभयो ।
निजामती कर्मचारीबाट मतदान अधिकृत र सहायक मतदान अधिकृतमा प्राथमिकता दिइएको र अपुग कर्मचारीलाई शिक्षकबाट ल्याउने तयारी गरिएको छ । यसैगरी, बागलुङमा ६३७ नेपाल प्रहरी र एक हजार २९८ निर्वाचन प्रहरी परिचालन गरिने तयारी भएको बागलुङका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) वसन्त पाण्डेले जानकारी दिनुभयो ।
उहाँले पहिलो घेरा र मतपेटिकाको सुरक्षामा नेपाल प्रहरी खटिने भए पनि बाहिरी घेरामा आवश्यकताका आधारमा सशस्त्र प्रहरी र नेपाली सेना समेत खटिने भारतीले जानकारी दिनुभयो । उहाँले सशस्त्र र नेपाली सेनाको संख्याको तथ्याङ्क सार्वजनिक गर्न नमिल्ने बताउनुभयो । “मोबाइल टोली भन्ने प्रहरीको छुट्टै संयन्त्र हुन्छ जहाँ समस्या हुन्छ, त्यस स्थानमा तुरुन्तै पुग्छ” नेपाली सेना र शसस्त्र प्रहरी मतदान केन्द्रको बाहिर अलर्ट हुन्छ, जनताले निर्धक्क आफ्नो मत जाहेर गर्न सक्दछन् ।” पाण्डेले भन्नुभयो ।
बागलुङमा निर्वाचन र नेपाल प्रहरी गरी एक हजार ९३५ सुरक्षाकर्मी र दुई हजार ६० कर्मचारी गरी तीन हजार ९९५ जनशक्ति परिचालन गरिने भएको छ । जस्मा नेपाली सेना र सशस्त्र प्रहरी बल अलग्गै खटिनेछन् । बागलुङमा सुरक्षा संवेदनशिलता, मतदाताको सङ्ख्या घटबढ, तथा पायक पर्ने स्थान लगायतका कारण एक मदतानस्थल थप गरेको र एक मतदना केन्द्र घटाएर १०७ मतदानस्थल र २३० मतदान केन्द्र कायम गरिएको हो । यस्तै दुई मतदानस्थललाई स्थानान्तरण समेत गरिएको छ । १० स्थानीय तह र दुई प्रतिनिधिसभा सदस्य रहेको कुल एक लाख ९३ हजार ३८१ जना मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता रहेका छन् । यस पटक दुई प्रतिनिधिसभा सदस्यका लागि २३ जना चुनावी मैदानमा छन् ।
क्षेत्र नं. १ मा नेपाल मानवताबादी पार्टीका भक्तबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका कल्याण आचार्य, मंगोल नेशनल अर्गनाईजेशनका गुमा कुमारी बुढा राना मगर, राष्ट्रिय स्वतन्त्र पार्टीका शुशिल खड्का, नेपाल कम्युनिष्ट पार्टी एमालेका हिरा बहादुर केसी, प्रगतिशल लोकतान्त्रीक पार्टीका चित्रप्रसाद सापकोटा, नेपाली काँग्रेसका भिमबहादुर श्रीस राना चुनावी मैदानमा हुनुहुन्छ । त्यसैगरी नेशनल रिपब्लिक नेपालका सहविर थापा, राष्ट्रिय जनमोर्चा पार्टीका कृष्ण प्रसाद शर्मा अधिकारी, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ति र नेपाल कम्युनिष्ट पार्टी माओबादीका टेकबहादुर केसी मैदानमा हुनुहुन्छ ।
यस्तै क्षेत्र नम्बर दुईमा नेपाली कांग्रेसबाट टेकराज पौडेल, नेकपा एमालेबाट मन्जु शर्मा चालिसे, नेपाली कम्युनिष्ट पार्टीबाट ज्ञामनाथ गैरे, राष्ट्रिय स्वतन्त पार्टीबाट सोम शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता अञ्चल शाही, श्रम संस्कृति पार्टीका हर्क बहादुर पुन, नेकपा माओवादीका लोकेन्द्र घिमिरे मैदानमा हुनुहुन्छ । त्यस्तै प्रगतिशील लोकतान्त्रीक पार्टीका पदम कुवँर, नेपाल मानवतावादी पार्टीका टेकप्रसाद कामी, मङ्गोल नेशलन अर्गनाइजेशन बाट जुन बहादुर थापा मगर,जनता समाजवादी पार्टीका पूर्णबहादुर घर्ति र नेशनल रिपब्लिक पार्टीका नर बहादुर बुढा चुनावी मैदानमा हुनुहन्छ ।