• २४ माघ २०८२, शनिबार

अस्तित्व रक्षामा र्‍याफ्टिङ

blog

विश्वमा र्‍याफ्टिङको अवस्थाबारे कुरा गर्दा अमेरिका, न्युजिल्यान्ड, क्यानडा, कोस्टारिका, अस्ट्रेलिया, चिली, नर्वेलगायतले यस क्षेत्रमा ठुलो प्रगति गरेका छन् । हाम्रै छिमेकी देश भारतले पनि यसको राम्रो प्रगति गरेको छ । ‘२०२२ कमर्सियल रिभर युज रिपोर्ट’ अनुसार अमेरिकामा ४८ वटा प्रमुख नदीमा १४/१५ लाखभन्दा बढी पर्यटक बर्सेनि ¥याफ्टिङको रमाइलो गर्न जाँदा रहेछन् । त्यसै गरी न्युजिल्यान्ड, नर्वे, क्यानडा, अस्टे«लिया, कोस्टारिकालगायत देशले पनि बर्सेनि साहसिक पर्यटन अन्तर्गत लाखौँ पर्यटकलाई आकर्षित गर्दा रहेछन् । अमेरिकालाई विश्वमै र्‍याफ्टिङ व्यवसाय सबैभन्दा सङ्गठित र व्यावसायिक रूपमा गर्ने देश मानिन्छ । त्यहाँ सुरक्षा मापदण्ड, अनुमति प्रणाली र बिमा संरचना अत्यन्त बलियो छ । त्यसै गरी साहसिक पर्यटनमा न्युजिल्यान्डलाई विश्वकै राजधानी मानिँदो रहेछ । यो देश पनि र्‍याफ्टिङमा अग्रस्थानमा छ । त्यहाँ र्‍याफ्टिङलाई पर्यटन उद्योगसँग जोडिएको छ । क्यानडा पनि अग्रपङ्क्तिमा पर्ने रहेछ । त्यहाँ पारिवारिकदेखि अत्यन्त साहसिक र्‍याफ्टिङसम्मका प्याकेज व्यवस्थित रूपमा सञ्चालन हुन्छन् । फ्रेङ्कलिन, टुली, स्नोई जस्ता नदीले अस्ट्रेलियालाई र्‍याफ्टिङका लागि महत्वपूर्ण गन्तव्य बनाएका छन् । यहाँ वातावरणीय संरक्षण र साहसिक पर्यटन सँगसँगै अगाडि बढाइएको छ । 

विश्वका अग्रपङ्क्तिका देशसँग नेपालको र्‍याफ्टिङलाई तुलना गर्ने हो भने अझै विकासशील चरणमा छ तर सम्भावनाका हिसाबले शक्तिशाली देश मानिन्छ । त्रिशूली, भोटेकोशी, सुनकोशी, कर्णाली, सेती, तमोर जस्ता नदी विश्वस्तरीय र्‍याफ्टिङ गर्नलायक नदी हुन् । नेपालमा साहसिक पर्यटनको सुरुवात विदेशी साहसिक पर्यटक तथा प्रशिक्षकको पहलबाट भएको पाइन्छ । ¥याफ्टिङको औपचारिक सुरुवात इस्वीको सत्तरीको दशकदेखि भएको देखिन्छ । सन् १९७६ मा केही विदेशी साहसिक पर्यटकले नेपालका नदीमा परीक्षण गरेका थिए, जसबाट नेपालको साहसिक पर्यटन उद्योगमा एउटा नयाँ अध्याय सुरु भयो । विशेष गरी अमेरिकी र युरोपेली र्‍याफ्टिङ टोलीले नेपालका प्रमुख नदीमा परीक्षणको रूपमा जलयात्रा गर्न थाले । त्यही समयमा नेपाल सरकार र निजी क्षेत्रका केही उत्साही युवा व्यवसायी यसलाई पर्यटनसँग जोड्ने अवधारणामा गम्भीर भएर जुटे । 

हामीसँग हिमालको काखबाट अविरल बग्ने खोलानाला प्रशस्त छन् । र्‍याफ्टिङ एउटा यस्तो रोमाञ्चक अनुभव हो, जहाँ प्रकृतिको रिस र सौन्दर्य एकै पटक अनुपम स्वाद लिन सकिन्छ । फेरि हाम्रो भौगोलिक बनावट त्यत्तिकै आकर्षक छ । व्यवसायीहरूले सन् १९९० मा र्‍याफ्टिङको प्रतिनिधित्व गर्ने संस्था पनि खोले । यसपछि ¥याफ्टिङले व्यावसायिक रूप लिन थाल्यो । नदी सुरक्षा, गाइड तालिम, नियमावली निर्माण, अन्तर्राष्ट्रिय प्रवर्धनलगायतका महत्वपूर्ण काममा व्यवसायी सक्रिय हुन थाले, जसले नेपालको साहसिक पर्यटन उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गराउने दिशामा महत्वपूर्ण उपलब्धि हात पर्‍यो । भनिन्छ, त्यो समयमा विदेशी पर्यटक नेपालको प्राकृतिक सौन्दर्य, चट्टानी खोला, नदीको वेग र सांस्कृतिक अनुभवका लागि पनि लालायित भई नेपाल आउँथे रे । त्यस समय नेपाललाई र्‍याफ्टिङको ‘मक्का’ पनि भनेर चिनिन्थ्यो भन्ने कुरा पुराना पर्यटन व्यवसायी अहिले पनि बताउँछन् ।

यसपछि नेपालमा १५० भन्दा बढी र्‍याफ्टिङ एजेन्सी दर्ता भए तर अहिले ५० प्रतिशतभन्दा बढी बन्द भइसकेका छन् । साहसिक पर्यटनको स्वाद लिन आउने विश्वका पर्यटक करिब करिब ९० प्रतिशतले घटेका छन् । यस व्यवसायका गाइड, टेन्ट व्यवस्थापक, सहयोगी, यातायात सेवा प्रदायकलगायत हजारौँलाई यस क्षेत्रले रोजगारी दिएको थियो । स्वदेशी पर्यटककै भरमा यो व्यवसाय जेनतेन धानिएको छ । 

अर्को सबैभन्दा ठुलो चिन्ताको विषय त यहाँका अनुभवी जलयात्रा गाइड युरोप, अमेरिका, अस्ट्रेलिया, जापान, भारतलगायतका देशमा यही काम गर्न पलायन भइरहेका छन् । पर्यटन विज्ञहरूका अनुसार यदि नेपालमै व्यवस्थित तालिम, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको प्रमाणीकरण र सरकारी सहयोग प्रदान गर्न सकिने हो भने हजारौँ बेरोजगार युवालाई यस क्षेत्रमा दक्ष बनाई वैदेशिक रोजगारीमा पठाउन सकिने ठुलो सम्भावना छ । यसले एकातिर बेरोजगारी समस्या हल गर्ने र अर्कातर्फ वैदेशिक मुद्रा आर्जन बढाउने छ । यसरी जाने जनशक्तिले ती देशमा नेपालको प्रतिनिधित्वसमेत गरी नेपालको साहसिक पर्यटनको प्रचारप्रसार गर्ने दाबी व्यवसायीको छ । 

१० बर्से सशस्त्र द्वन्द्व र कोभिड महामारीले नेपालको पर्यटन उद्योग थिलोथिलो हुँदा साहसिक जलयात्रा पनि अछुतो रहेन । नेपालमा जलयात्रा घट्नुको मुख्य कारणमा जथाभाबी गरिएको प्राकृतिक दोहन नै हो । नदी छेउछाउ रिसोर्टहरू अव्यवस्थित रूपमा विस्तार गरियो । पहिला सफा, शान्त र स्वाभाविक खोला तट पर्यटकको रोजाइमा पथ्र्याे । डोजरले धुलो, फोहोर र अप्ठ्यारो बनाएकाले उनीहरूको आकर्षण घट्यो । जनशक्ति अभाव, तालिमको कमी, नीतिगत अस्पष्टता, नदी स्रोतका अभावले र्‍याफ्टिङ कम्पनी सञ्चालन अत्यधिक महँगो हुँदा यो व्यवसाय खुम्चन थाल्यो ।

साहसिक जलयात्रा नेपालको एउटा महत्वपूर्ण पर्यटकीय विधा हो । हाम्रा नदी विश्वका उत्कृष्ट नदीहरू भएर पनि त्यसको लाभ उठाउन सकेका छैनौँ । तिनै तहका सरकारले त्यसको महत्व बुझ्न सकेनन् । व्यवसायीले खोजेको सहयोग गरौँ भन्नेमा तिनै तहका सरकारको चाहना देखिएन । र्‍याफ्टिङका लागि उत्कृष्ट नदी किनारामा रिसोर्ट र ड्यामहरू सञ्चालन भइराख्दा पनि सरकारले त्यस्ता नदीको संरक्षणमा सहयोग गर्ने प्रयास गरेन । स्थानीय सरकारले जथाभाबी नदी किनार र स्रोतमा गिट्टी र क्रसर उद्योग सञ्चालन गर्दा नदीहरूको सौन्दर्यमै ठुलो आघात पर्न गयो । साहसिक पर्यटनकै लागि भनेर नेपाल आउने पर्यटकहरू भारत, चीनलगायत देशमा जाने गरेको नमिठो अनुभव र्‍याफ्टिङ व्यवसायीसँग छ । 

नेपालमा छ हजार वटा नदी भएकोमा तीमध्ये करिब सात वटा प्रदेशमा एउटा एउटा नदीलाई जलयात्रा पर्यटन तथा वातावरणका लागि खुला छोड्नुपर्ने माग व्यवसायीले गर्दै आएका छन् । यो माग उनीहरूले दशकौँदेखि उठाउँदै आएका हुन् तर अभैm सम्बोधन हुन सकेको छैन । जलयात्रा व्यवसाय दर्ता गर्न झन्डै नौ/दस वटा सरकारी निकाय धाउनुपर्ने बाध्यताले पनि व्यवसायी हैरान छन् । एकै ठाउँबाट व्यवसाय दर्ता गर्ने व्यवस्था मिलाउनका लागि पनि व्यवसायीले आवाज उठाउँदै आएका छन् । 

नेपालका खोलानाला केवल ऊर्जाको खानी मात्र होइनन्, पर्यटनको मेरुदण्ड पनि हुन् । हाम्रा यी खोलानालामा सञ्चालन हुने र्‍याफ्टिङ जस्ता साहसिक गतिविधिले विदेशी मुद्रा आर्जनमा सहयोग मात्र गर्दैन, युवालाई देशभित्रै रोजगारीका अवसर पनि सिर्जना गर्छ । उचित नीति, संरचना र प्रवर्धनको माध्यमबाट याफ्टिङ व्यवसायलाई नेपालको प्रमुख आर्थिक स्तम्भमध्ये एक बनाउन सकिने सम्भावना बलियो छ । प्रकृतिको निलो र सेतो छालमा बग्दै, नेपालका खोलानाला आज पर्यटनको भविष्य बोकिरहेका छन् । खाँचो छ केवल उचित नीतिको । 

सरकारले जलयात्रा व्यवसायलाई पुनरुत्थान गर्नुपर्ने खाँचो छ । कम्तीमा सातै प्रदेशमा एउटा/एउटा नदीलाई सम्पदा नदीको रूपमा घोषणा गर्दै त्यो क्षेत्रलाई संरक्षण र प्रचार गर्नु पर्छ । जलविद्युत् परियोजना विकास गर्दा र्‍याफ्टिङका लागि कहलिएका नदीको संरक्षण गरेर मात्र परियोजना विकास गर्नु पर्छ । कम्तीमा त्यस्ता ऊर्जा परियोजना विकास गर्नुअघि ¥याफ्टिङ व्यवसायीलाई पनि सँगै राखेर छलफल हुन सक्यो भने दुवै क्षेत्रको विकासमा सघाउ पुग्छ । विश्वका प्रत्येक देशले कम्तीमा दुई/चार वटा नदीलाई सम्पदा नदीको रूपमा घोषणा गरी तिनको संरक्षण गरेको पाइन्छ तर यहाँ व्यवसायीले बर्सौंदेखि कम्तीमा एउटा नदीलाई सम्पदा नदीको रूपमा घोषणा गर्दै यसको संरक्षण गर्ने कार्यमा सघाउन माग गर्दै आएकोमा माग पूरा हुन सकेको छैन । 

सरकारले जथाभाबी जलविद्युत् आयोजनाका लागि अनुमति दिँदा पनि यो व्यवसायले सङ्कट भोग्नु परेको हो । प्राकृतिक सम्पदालाई बिगारेर, मासेर र नासेर गरिने विकास अब विकास हुन सक्दैन । एक्काइसौँ शताब्दीको साँचो विकास भनेको प्राकृतिक सम्पदाको संरक्षणसहितको समुचित उपयोग हो, जसले दिगो समृद्धिको मार्ग खोल्छ । प्राकृतिक सम्पदा नष्ट गरेर होइन, संरक्षणसहितको विकास नै अबको शताब्दीको समृद्धि हो ।

पर्यटन मन्त्रालय, नारा, नेपाल पर्यटन बोर्ड र स्थानीय तहबिच समन्वय गरेर खोलाहरूको सूचीकरण, वर्गीकरण तथा संरक्षित जलयात्रा क्षेत्र घोषणा गर्न सके र्‍याफ्टिङ व्यवसायलाई पुनः जीवन दिन सकिने छ । र्‍याफ्टिङ क्षेत्रलाई नीतिगत प्रोत्साहन, सुरक्षा मापदण्ड, अनुमतिपत्र प्रणाली र बिमा संरचना, प्रशिक्षण कार्यक्रम र विदेशी बजार लक्षित प्रचारप्रसार गर्न आक्रामक योजना ल्याउनु पर्छ । डिजिटल प्रवर्धन, ब्लगिङ, फोटोग्राफी प्रतियोगिता, अन्तर्राष्ट्रिय इभेन्ट्स जस्तै नेपाल नदी महोत्सव आयोजना गर्न सकिएमा विश्वभरका साहसिक पर्यटकलाई आकर्षित गर्न सकिन्छ । ¥याफ्टिङलाई केवल साहसिक यात्रा मात्र नभएर सामुदायिक पर्यटनका रूपमा नेपालको ग्रामीण परिवेशसँग जोडेर, ग्रामीण विकासमा यसको योगदान सुनिश्चित गर्न सकिने प्रशस्त सम्भावना छ । साथै प्राकृतिक विपत्तिका बेला राज्यलाई सहयोगी पनि बन्न सक्छ । 

यो वर्ष नेपालमा र्‍याफ्टिङ सञ्चालन गर्न नेपाल सरकारले अनुमति दिएको ५० औँ वर्ष पूरा हुँदै छ । पाँच दशकको अवधिमा यो व्यवसायले गर्विलो इतिहास बनाएको छ । प्राकृतिक विविधता, हिमाली पानी, सांस्कृतिक सम्पर्क र साहसिक रोमाञ्चको अद्वितीय संयोजनका कारण नेपाल विश्वकै उत्कृष्ट जलयात्रा गन्तव्य बन्न सक्ने आधार अझै विद्यमान छन् । जलयात्राका लागि संसारभरि प्रसिद्ध भएर पनि नेपालमा किन यो व्यवसाय सङ्कटग्रस्त बन्दै छ ? यसमा सबैले एक पटक मनन गरौँ । 

व्यवसायीको समस्याप्रति सरोकारवाला समयमै संवेदनशील हुनु पर्छ । हरेक क्षेत्र र व्यवसायले सरकारको साथ खोजेका हुन्छन् । राज्यले उद्योग व्यवसाय डुब्न दिँदैन र निजी क्षेत्र अप्ठेरोमा पर्दा सहयोग गर्छ भन्ने कुरा व्यवहारमै उतार्नु पर्छ । र्‍याफ्टिङ व्यवसायीले उठाएका मुद्दालाई समयमै सम्बोधन गरी साहसिक पर्यटनलाई पुनःजीवन दिनु पर्छ । आपसी हातेमालो गरी ¥याफ्टिङसहित साहसिक पर्यटनमा नेपालले आर्जन गरेको विगतको ख्याति फर्काउन सकियोस् । रोजगारी, लगानी, विदेशी मुद्रा आर्जनको नयाँ ढोका खोल्न सकियोस् ।