• ८ चैत २०८२, आइतबार

परीक्षामा प्रश्नको उत्तर व्यवस्थापन

blog

अहिले जुनसुकै क्षेत्र प्रतिस्पर्धायुक्त छ । त्यसमा पनि लोक सेवा आयोगद्वारा लिइने विभिन्न प्रतियोगितात्मक परीक्षामा त प्रतिभाशाली नवयुवाको झन् बढी प्रतिस्पर्धा छ । उक्त प्रतिस्पर्धामा अब्बल र सफल ठहरिन पढेर मात्र हुँदैन । पढेको कुरा स्मरण गरेर निर्धारित समय सीमाको परीक्षामा राम्ररी प्रस्तुत गर्न सक्नु पर्छ । लेखाइ भनेको अक्षरहरूको पुञ्ज मात्र होइन ज्ञान, तर्क र सिलसिलाको प्रस्तुति पनि हो । लेखाइको शैली र ढाँचाबाट नै उत्तरपुञ्जिका आकर्षक बनाउन सकिन्छ । परीक्षामा प्रायः वस्तुगत र विषयगत प्रश्न सोधिन्छ । वस्तुगत प्रश्नको जवाफमा स्मरणात्मक शैलीले काम गर्छ भने विषयगत प्रश्नमा स्मरणात्मक शैलीका अतिरिक्त प्रस्तुतीकरण शैलीले काम गर्छ । 

प्रतियोगितात्मक परीक्षामा अरूलाई पछि पार्दै कसरी सफलता हात पार्ने भन्ने ध्येय सबै परीक्षार्थीको हुन्छ र हुनु पनि स्वाभाविक हो । त्यसका लागि प्रतियोगीले निर्दिष्ट प्रश्नको प्रभावकारी उत्तर व्यवस्थापन गर्ने सिप, शैली एवं कला प्रदर्शन गर्न जरुरी हुन्छ । उत्तर लेखन शैली पद वा तह अनुसार स्तर स्तरको हुन्छ । सामान्यतः सहायकस्तरका पदमा सूचनामूलक उत्तरको अपेक्षा गरिन्छ भने अधिकृतस्तरका पदमा तार्किक शैलीयुक्त उत्तरको अपेक्षा गरिन्छ । जेहोस् जुनसुकै परीक्षामा प्रश्नको उत्तर व्यवस्थापन गर्नु नै सफलताको निर्णायक मोड हो । यस आलेखमा पनि लोक सेवा आयोगद्वारा लिइने परीक्षा प्रणालीमा सोधिएका विषयगत प्रश्नको सीमित समयभित्र कसरी प्रभावकारी ढङ्गले उत्तर व्यवस्थापन गर्न सकिन्छ भन्ने कुराको प्रतियोगीलाई सन्देशमूलक सूचना प्रवाह गर्ने जमर्को गरिएको छ । 

सर्वप्रथम परीक्षामा सामेल हुँदा केही प्राविधिक व्यवस्थापनको पक्षलाई ख्याल गर्नु पर्छ । जस्तै : प्रवेश पत्र, कालो मसी भएको कलम, स्केल, साधारण घडी (स्मार्ट घडी होइन) आदि आवश्यक सामग्री नछुटाई परीक्षा केन्द्रमा समयमै पुग्नु अपरिहार्य छ । त्यसै गरी परीक्षाका दिन स्वस्थ्य तनावरहित हुनु, उत्तरपुस्तिकाको चारैतिर मार्जिन राखेर फोल्ड गर्नु, उत्तरपुस्तिकामा आफ्नो सम्पूर्ण विवरण शुद्धसँग फरक नपर्ने गरी भर्नु, केरमेट नगरी अक्षर सफा र स्पष्ट लेख्नु आदि परीक्षामा अब्बल वातावरण सिर्जना गर्ने आधारभूत पूर्वसर्त हुन् । प्रश्नपत्र बाँड्ने घण्टी लागेपछि सर्वप्रथम प्रतियोगीले प्रश्नलाई ध्यानपूर्वक अध्ययन गर्नु नै उत्तर व्यवस्थापनको सुरुवात हो । हतारमा प्रश्न पढ्दा प्रश्नले के मागेको हो र त्यसमा के लेख्ने हो भन्ने कुरा बिच दुरी पैदा हुन्छ । त्यसैले प्रश्नपत्रमा सोधिएका हरेक प्रश्नलाई ध्यानपूर्वक अध्ययन गरी प्रश्नले मागेको कुरा छर्लङ्ग बुझ्नु पर्छ र सबैभन्दा बढी जानेको प्रश्नको उत्तर लेख्न सुरु गर्नु पर्छ । धेरै जानेको उत्तर पहिला लेख्दा उत्तर लेख्ने क्रममा आत्मविश्वास वृद्धि हुँदै र त्रास कम हुँदै जान्छ ।

उत्तर लेख्ने तौरतरिका

प्रश्नमा प्रयोग भएका शब्द सही ढङ्गले बुझ्न सकियो भने मात्र अपेक्षित उत्तर लेख्न सकिन्छ । कहिलेकाहीँ एउटै शब्दको सन्दर्भ अनुसार फरक अर्थ पनि लाग्न सक्छ । त्यसैले प्रश्नको विषय वस्तु र सन्दर्भ अनुरूप शब्दको अर्थ यकिन गरेर सोहीबमोजिमको उत्तर लेख्नु आवश्यक हुन्छ । उल्लेख गर्नुहोस् र प्रकाश पार्नुहोस् भनेको खण्डमा सरासर सही उत्तर स्पष्टसँग लेख्ने, व्याख्या गर्नुहोस् र वर्णन गर्नुहोस् भनेको प्रश्नमा विषयवस्तुको बयान गरेर विस्तृत रूपमा लेख्ने गर्नु पर्छ । यस्ता प्रश्नमा तार्किक प्रस्तुतीकरण जरुरी पर्दैन । त्यसै गरी विश्लेषण गर्नुहोस्, समीक्षा गर्नुहोस्, मूल्याङ्कन गर्नुहोस्, आलोचनात्मक टिप्पणी गर्नुहोस् भनिएको प्रश्नमा विषयवस्तुको विद्यमान अवस्थाबारे सङ्क्षेपमा उल्लेख गरी त्यसका सबल पक्ष, दुर्बल पक्ष, अवसर तथा चुनौतीलाई समेटेर तर्कपूर्ण उत्तर लेख्नु पर्छ । पुष्टि गर्नुहोस् भनेको प्रश्नमा आफ्नो मौलिक वा फरक धारणा नराखी प्रश्नले गरेको दाबीलाई तर्क, तथ्य, तथ्याङ्क र उदाहरण प्रस्तुत गरी सही भएको प्रमाणित गर्नु पर्छ । यो कुनै दाबी वा भनाइलाई पुष्टि गर्ने क्षमता परीक्षार्थीमा कत्तिको छ भनी जाँच गर्ने प्रश्न हो । कुनै दुई विषयबिच तुलना वा फरक छुट्ट्याउनुहोस् भनेको प्रश्नमा फम्र्याट बनाएर उत्तर लेख्नु पर्छ । सिंहावलोकन गर्नुहोस् भनेको प्रश्नमा अवधारणा, विषय वस्तु वा विचारको विकासक्रमलाई आलोचनात्मक ढङ्गले कालक्रमिक रूपमा सिलसिलेवार तवरले प्रस्तुत गर्नु पर्छ । यस्तो प्रश्न समय व्यवस्थापनका दृष्टिले चनौतीपूर्ण हुने हुँदा सङ्क्षेपमा प्रस्तुत गर्नु पर्छ । आफ्नो धारणा प्रस्तुत गर्नुहोस् वा तर्क प्रस्तुत गर्नुहोस् भनिएकोमा आफूलाई लागेको विचार वस्तुगत र तटस्थ रूपमा लेख्नु पर्छ । यसमा आवश्यकता अनुसार आलोचनात्मक लेखेर उदाहरण, तथ्याङ्क र तर्कपूर्ण व्याख्याद्वारा जवाफलाई बढी वजनदार बनाउन सकिन्छ । समस्या र चुनौती सोधेको प्रश्नमा विश्वव्यापी, राजनीतिक, आर्थिक, सामाजिक, व्यवस्थापकीय, विकासात्मक, नैतिक आदि समस्या र चुनौती प्रस्तुत गर्न सकिन्छ । यसरी प्रश्नमा प्रयोग गरिएका शब्दले उत्तरको स्वरूप निर्धारण गर्ने भएकाले यी शब्द नबुझी लेखिएको उत्तर गलत हुन सक्छ र सही भए पनि अपूरो ठहरिन सक्छ । तसर्थ उत्तर लेखनमा प्रतियोगीले विशेष ध्यान पु¥याउन जरुरी छ । 

लोक सेवा आयोगको परीक्षामा उत्तर लेख्दा उचित फम्र्याटका साथ सिलसिलेवार प्रस्तुति पनि हुनु पर्छ । छोटो प्रश्नको उत्तर लेख्दा प्रश्नले जे मागेको छ सरासर त्यही मागेको कुरालाई आकर्षक ढङ्गले लेख्नु पर्छ । यसमा विषय प्रवेश एवं सुरुवात र निष्कर्ष लेख्न समय पर्याप्त हुँदैन । एउटा लामो प्रश्नको परिपक्व उत्तरमा सामान्यतया परिचय, मुख्य भाग र निष्कर्ष हुन्छ । यहाँ लामो प्रश्न भन्नाले १० अङ्कभार वा सोभन्दा बढी अङ्कभारको प्रश्नलाई इङ्गित गर्छ । यस्ता प्रश्नमा परिचय वा भूमिका वा विषयको सुरुवात सोधे पनि नसोधेपनि लेख्नु पर्छ । सोधेमा अलि धेरै र नसोधेमा अलि थोरै लेख्नु पर्छ । त्यसपछि प्रश्नले जे सोधेको छ, त्यो खण्डमा प्रवेश गर्नु पर्छ । प्रश्नले सोधेका खण्डमा उत्तर प्रस्तुत गर्दा प्रश्नको मर्मबमोजिम बुँदागत वा अनुच्छेदयुक्त उत्तर प्रस्तुत गर्न सकिन्छ । उदाहरणका लागि प्रायः महìव, फाइदा, आवश्यकता, कारण, सबल पक्ष, दुर्बल पक्ष, समस्या, चुनौती, समस्या समाधानका उपाय सोधेको खण्डमा बुँदागत प्रस्तुति प्रभावकारी मानिन्छ । त्यसै गरी परिचय, परिभाषा, अवधारणा, विकासक्रम, व्याख्या, सिंहावलोकन, व्यवस्था, अवस्था आदि सोधेको खण्डमा साधारणतया अनुच्छेदयुक्त प्रस्तुति प्रभावकारी मानिन्छ । यद्यपि यो सबै अवस्थामा नभई प्रायः अवस्थामा हो भनेर बुझ्नुपर्ने हुन्छ । अवश्यकता बोध भएमा शीर्षक र उपशीर्षक दिएमा उत्तर अझ स्पष्ट, प्रभावकारी र परीक्षकमैत्री बन्छ । प्रश्न भित्र धेरै उपप्रश्न हुने भएकाले यसो गर्दा उपप्रश्न छुट्ने सम्भावना रहँदैन र परीक्षकलाई पनि खुसी पार्न सकिन्छ । 

समय व्यवस्थापन र भाषिक शुद्धता 

उत्तर लेख्दा समय व्यवस्थापन उत्तिकै महत्वपूर्ण हुन्छ । सबै प्रश्नलाई समान समय नदिँदा कतिपय प्रश्नमा आवश्यकताभन्दा बढी सूचना भण्डार हुन पुग्छ भने कतिपय प्रश्नमा उत्तर अपुरो रहने सम्भावना हुन्छ । थोरै प्रश्नलाई धेरै लेख्नुभन्दा सबै प्रश्नलाई सन्तुलित रूपमा उत्तर दिनु अङ्कका हिसाबले फाइदाजनक हुन्छ । तथापि कहिलेकाहीँ कुनै प्रश्नको उत्तर थोरै जानेको वा कुनै प्रश्नको उत्तर धेरै जानेको पनि हुन सक्छ । त्यस्तो परिस्थितिमा थोरै जानेको विषयलाई तन्काएर लेख्न सक्ने र धेरै जानेको विषयलाई खुम्च्याएर लेख्न सक्ने कलाको अभ्यास गर्नु पर्छ । 

परीक्षमा अङ्ग्रेजी वा नेपाली जुनसुकै भाषा प्रयोग गरे पनि भाषागत शुद्धता, सरलता र स्पष्टता महत्वपूर्ण सवाल हो । उत्तरमा भन्न खोजेको कुरा स्पष्ट रूपमा झल्काउनु पर्छ । वाक्यहरू सकेसम्म छोटा र एकपछि अर्को सिलसिलेबार हुनु पर्छ । दोहोरो अर्थ लाग्ने शब्दको प्रयोग गर्नु हुँदैन । जटिल शब्द प्रयोग गरेर ज्ञान देखाउनेभन्दा सरल, सटिक र विषय केन्द्रित भाषा प्रयोग गर्दा उत्तर आकर्षक बन्छ । हरेक लामो प्रश्नमा विषयको सङ्क्षिप्त सुरुवात र अन्त्यमा सकारात्मकता झल्कने छोटो निष्कर्षबाहेक अनावश्यक भूमिका, घुमाउरो व्याख्या र विषववस्तुभन्दा बाहिरका कुरा लेख्नु उत्तर व्यवस्थापनका कमजोरी हुन् । त्यसै गरी लेखेको उत्तरका वाक्य एकपछि अर्को बग्दै जानु पर्छ, न कि एउटै कुराको वरिपरि वाक्यहरू घुमी राख्नु हुँदैन । उत्तरपुस्तिकामा परीक्षकलाई मोहित पार्ने खालको चलाखीपूर्ण उत्तर लेख्नु पर्छ, न कि प्रदूषित उत्तर लेखेर आफ्नो कमजोरी देखाउनु हुँदैन । तसर्थ अरूको भन्दा फरक ढङ्गले उत्तर लेख्नतर्फ परीक्षार्थी सदैव क्रियाशील रहन आवश्यक छ । 

आधिकारिक तथ्य तथा तथ्याङ्क 

त्यसै गरी प्रस्तुत गरिएको उत्तरमा सकेसम्म आधिकारिक तथ्याङ्क, उदाहरण, नारा, शास्त्रका महावाणी, विद्वान्का भनाइ, सूत्र, चित्र र जार्गनको प्रयोग गर्दा उत्तर आकर्षक मानिन्छ । कतिपय प्रश्नमा तथ्याङ्क प्रश्नले नै खोजेको हुन्छ । त्यस्ता प्रश्नमा अनिवार्य रूपमा तथ्याङ्कको प्रयोग गर्नु पर्छ । जस्तै : नेपालमा जनसङ्ख्या वृद्धिको अवस्था उल्लेख गर्दै वर्तमान जनसङ्ख्याको सारभूत विश्लेषण गर्नुहोस् भन्ने प्रश्नमा पहिलो जनगणनादेखि जनसङ्ख्या वृद्धिको अवस्था तथ्याङ्कसहित झल्काउनु पर्छ र अहिलेको जनसङ्ख्याको आकार, वृद्धि, विविधतालगायत विषय झल्काउनु पर्छ । त्यसै गरी नेपालमा भ्रष्टाचार बढ्दै गएको छ भन्ने विषयमा तपाईंको धारणा प्रस्तुत गर्दै भ्रष्टाचारको वर्तमान अवस्था र भविष्यमा गर्नुपर्ने सुधारबारे प्रकाश पार्नुहोस् भन्ने प्रश्नको उत्तरमा भ्रष्टाचारसम्बन्धी ट्रान्सपरेन्सी इन्टरनेसनललगायतबाट प्रकाशित विगतदेखि वर्तमानसम्मका तथ्याङ्क प्रस्तुत गर्नु अनिवार्य मानिन्छ । 

उत्तर लेखनमा विषयसँग सम्बन्धित संविधान, ऐन, नियम, नीति, चालु योजना, बजेट अनि समसामयिक सन्दर्भका सवाललाई जोडेर लेख्दा अत्यन्त प्रभावकारी हुन्छ । उत्तरमा सिद्धान्त छाँटेर ज्ञानको भण्डार भर्नुभन्दा अङ्कभार अनुसार सिमित समयभित्र आफूले जानेको होइन, प्रश्नले मागेको कुरा मौलिक, तार्किक, विश्लेषणात्मक र सिर्जनात्मक ढङ्गले प्रस्तुत गर्नु विवेकपूर्ण मानिन्छ । लोक सेवा आयोगको परीक्षा ज्ञानको परीक्षा मात्र नभएर प्रश्न बुझेर उत्तरलाई सन्तुलित, सुस्पष्ट र अनुशासित रूपमा प्रकट गर्ने कलाको परीक्षा पनि हो । धेरै तयारी गरेको भए पनि प्रश्नको मनसाय नबुझी लेखिएको उत्तर प्रभावकारी हुँदैन । प्रश्नमा प्रयोग भएका शब्दको अर्थ बुझेर निर्धारित समयको सही सदुपयोग गर्दै सरल भाषामा संरचनागत उत्तर लेख्ने अभ्यास गर्नु पर्छ । त्यसै गरी अहिलेको प्रतिस्पर्धी परीक्षा प्रणालीमा उत्तरको अनावश्यक लम्बाइभन्दा सटिक, जटिल शब्दभन्दा सरल र भावनाभन्दा यथार्थ र तथ्यपरक उत्तर प्रस्तुत गर्नु पर्छ । अन्त्यमा परीक्षा सकिनुअघि केही समय छुट्ट्याएर लेखिएका उत्तर पुनः जाँच गरी भाषा, तथ्य र प्रस्तुतीकरणमा कुनै त्रुटि भएमा सच्याउँदै उत्तरलाई अझ आकर्षक र उत्कृष्ट बनाउन सकिन्छ । यस प्रकारको उत्तर व्यवस्थापन शैलीले लोक सेवा आयोगका परीक्षार्थीको सपनालाई सफलतामा रूपान्तरण गर्ने आशा एवं विश्वास गर्न सकिन्छ ।