गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २४ गते । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पत्रकारले सत्यतथ्य कुरा जनताका पक्षमा बोल्न र लेख्न डराउन नहुने बताउनुभएको छ । रफत सञ्चार क्लबको १६ औँ वार्षिकोत्सव कार्यक्रम शुक्रबार उद्घाटन गर्दै उहाँले पत्रकारले देश र जनताका पक्षमा बोल्न र लेख्न डराउन नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “देश र जनताका पक्षमा उभिएर निर्भीकतासाथ आफ्नो दायित्व पूरा गर्न पत्रकार अग्रसर रहनु पर्छ । “पत्रकारले साँचो कुरा बोल्न र लेख्न पछि पर्न हुँदैन । यो कर्तव्यप्रति च्युत भए देश र जनताको अहित हुन जान्छ ।”
कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले क्लबले विभिन्न राष्ट्रिय तथा स्थानीय समस्या पहिचान र त्यसको निदानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
सो अवसरमा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले अहिले निर्वाचनको समय भएकाले सञ्चारकर्मीले मतदाता र उम्मेदवारबिच एउटा सेतुका रूपमा काम गर्न सके निष्पक्ष पत्रकारिताको कडी स्थापना हुन सक्ने सुझाव दिनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, नेपाल भारोत्तोलन सङ्घका केन्द्रीय अध्यक्ष रामजी बोस श्रेष्ठ, रफत सञ्चार क्लबका अध्यक्ष सुशीलबन्धु थापा, कल्पना स्मृति कोषका तर्फबाट पत्रकार भरतबन्धु थापाले व्यावसायिक र मर्यादित पत्रकारिता आजको आवश्यकता भएकोमा जोड दिनुभयो ।
कार्यक्रममा रफत क्रियाशील पत्रकारिता पुरस्कारबाट राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्न श्रेष्ठ र कैलाश खबर डटकमका सम्पादक विनोद विश्वकर्मालाई सम्मान गरिएको थियो । यस्तै ख्वप अस्पतालमा कार्यरत हाडजोर्नी रोग विशेषज्ञ डा. मनिष प्रधानाङ्ग, पर्यटन व्यवसायीद्वय रामसुन्दर बके र रामजी अवाललाई सम्मान गरिएको थियो ।