लेखनाथ समाचारदाता
लेखनाथ, माघ २४ गते । नेपाली कांग्रेसका सभापति गगन थापाले सङ्कटमा पनि परिस्थिति समाल्ने र नेतृत्व गर्ने शक्ति कांग्रेससँग मात्र भएको दाबी गर्दै कांग्रेस देशको सबैभन्दा पुरानो र अहिलेको सन्दर्भमा सबैभन्दा नयाँ दलसमेत भएको बताउनुभएको छ ।
नेपाली कांग्रेस कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा सभापति थापाले इतिहासका विभिन्न कालखण्डमा कांग्रेसले नेतृत्व गरेको स्मरण गर्दै अहिलेको परिस्थितिबाट देशलाई सहज निकास दिने शक्ति पनि कांग्रेससँग मात्र भएको जिकिर गर्नुभयो । “कांग्रेस देशको सबैभन्दा पुरानो पार्टी हो, कांग्रेस सबैभन्दा नयाँ पार्टी पनि हो,” सभापति थापाले भन्नुभयो, “एक एक जेनजीलाई भेटेर भन्नुस् : तपाईंहरूको मागबमोजिम बदलिएको एक मात्र दल कांग्रेस हो ।”
सबैभन्दा पुरानो पार्टीको इतिहास, सङ्घर्ष र अनुभवलाई साथमा लिएर नयाँ परिस्थितिको सामना गर्दै समृद्ध देशको बाटोमा अघि बढ्ने उहाँको भनाइ छ । सभापति निर्वाचित भएपछि पहिलो पटक कास्की आउनुभएका थापाले नेता, कार्यकर्तालाई सम्बोधन गर्दै उच्च आत्मविश्वास र संयमका साथ जनतामा जान आग्रह गर्नुभयो ।
“उत्तेजना जसले पनि फैलाउन सक्छ तर चेतना फैलाउने काम कांग्रेसले मात्र गर्न सक्छ,” उहाँले भन्नुभयो, “हामी नयाँ र पुराना मिलाउँछौँ, पहाड र मधेश जोड्छौँ । यही एजेन्डा लिएर जनताको घर घर जानुस् ।” सभापति थापाले नयाँ, पुराना, नेता, कार्यकर्ताको साथले मात्र परिवर्तन र समृद्धि सम्भव हुने औँल्याउँदै भन्नुभयो, “व्यक्तिले चमत्कार गर्छ भन्नेमा म विश्वास गर्दिनँ, मसँग जादुको छडी छैन तर यहाँहरू सबैको साथ लिएर कांग्रेसले देशको नेतृत्व गर्छ, परिस्थिति समाल्छ ।” निर्वाचनमा कतै तालमेल वा गठबन्धन नहुने प्रस्ट पार्दै उहाँले अब कांग्रेसलाई मत हाल्नेले अरू चिह्नमा मत हाल्ने दिन नआउने उल्लेख गर्नुभयो । नागरिकमा दल, सरकार, नेताप्रति गहिरो रिस रहेको औँल्याउँदै उहाँले त्यसको जवाफ कामबाट मात्र दिन सकिने उहाँले बताउनुभयो ।
देशमा देखिएको निराशाको मुख्य कारण भ्रष्टाचार भएको तर्क गर्दै उहाँले भन्नुभयो, “सबैभन्दा ठुलो शत्रु नेपालको को हो भनेर सोध्यो भने नागरिकले भन्छ ‘भ्रष्टाचार’ । भ्रष्टाचारविरुद्धको सबैभन्दा ठुलो योद्धा बदलिएर आएको नेपाली कांग्रेस हो,” उहाँले भन्नुभयो, “नेपाललाई जसरी हिजो हिंसाको आहालबाट बाहिर निकाल्यौँ, अब भ्रष्टाचारको आहालबाट हामी बाहिर निकाल्छौँ ।”
थापाले आगो जसले पनि लगाउन सक्ने उल्लेख गर्दै निभाउनलाई चाहिने क्षमता र धैर्य भने कांग्रेससँग भएको बताउनुभयो । अहिले कांग्रेस एक ढिक्का भएको दाबी गर्दै उहाँले निर्वाचनमा अर्जुनदृष्टि लगाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले कांग्रेस एक ढिक्का छ, चुनावपछि अधिवेशन गर्छौं, कांग्रेसमा कसैलाई काखापाखा गर्दैनौँ ।” सभापति थापाले पार्टीले कमसेकम एक सय सिट जित्ने उल्लेख गर्दै सबैले दुःख गरे एकल बहुमतको सम्भावनासमेत रहेको औँल्याउनुभयो ।