• २४ माघ २०८२, शनिबार

मतदाताको घरदैलोमा आयोग

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २४ गते । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर फागुन पहिलो साताबाट घरदैलोमा पुगेर मतदाता शिक्षा कार्यक्रम सुरु गर्ने भएको छ । मतदाता शिक्षा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि स्वीकृतसँगै आयोगले घरघरमा पुगेर निर्वाचन सचेतना र मतसङ्केतलगायतका कार्यक्रम सञ्चालन गर्न लागेको हो । आयोगले डिजिटल प्लेटफर्मबाट अहिले पनि निर्वाचन सचेतना बढाइरहेको छ । 

वडास्तरसम्म मतदाता शिक्षा कार्यक्रम पुर्‍याउने गरी आयोगले माघ १९ गते मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम स्वीकृत गरिसकेको छ । स्वीकृत कार्यक्रम अनुसार प्रत्येक स्थानीय तहका हरेक वडामा एक/एक जना स्वयंसेवक परिचालन हुने छन् । सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयले स्थानीय स्तरमा कार्यरत बाल विकास सहजकर्ता वा मातृशिशु कार्यकर्ता, स्थानीय स्वास्थ्य स्वयंसेविका वा सामुदायिक अध्ययन केन्द्रका परिचालकमध्ये एक जना स्वयंसेवक छनोट गर्ने छ । 

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कार्यविधि स्वीकृत भइसकेको र अब चाँडै स्वयंसेवक परिचालन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “आयोगले माघ १९ गतेको बैठकबाट कार्यविधि स्वीकृत गरिसकेको छ । मतदाता शिक्षाका लागि प्रयोग हुने नमुना मतपत्र जिल्ला सदरमुकामका पुगिसकेको छ । हाम्रा प्रतिनिधिले अब वडास्तरमै पुगेर आयोगले पहिचान गरेको एजेन्डा र विषयलाई विशेष ख्याल गरेर कार्यक्रम सञ्चालन गर्नुहुने छ ।”

आयोगले मतदाता शिक्षा सामग्री उत्पादन र प्रभावकारी परिचालनका लागि सरकारी स्वामित्वमा सञ्चारमाध्यमसँग समेत सहकार्यको सम्झौता गरिसकेको छ । सार्वजनिक सेवा प्रसारण नेपाल, गोरखापत्र संस्थान, राष्ट्रिय समाचार समिति, विज्ञापन बोर्डलगायतसँग आयोगले सहकार्यको सम्झौता गरिसकेको छ । यस्तै प्रेस काउन्सिल नेपालसँग पनि आयोगले सहकार्यको सम्झौता गरिसकेको छ । 

आयोगले यो पटक मतदाता शिक्षाको कार्यविधि तयारी गर्दा यसअघि बढी मत बदर भएका क्षेत्रको विषय पहिचान र त्यसमा समेत केन्द्रितको नीति लिएको छ । भौतिक रूपमा फागुनबाट मात्र कार्यक्रम सञ्चालन गर्न लागे पनि डिजिटल प्लेटफर्मबाट भने अहिले नियमित रूपमा निर्वाचनसँग सम्बन्धित सामग्री उत्पादन र प्रचारप्रसार गर्दै आएको छ । 

उच्च हिमाली/हिमाली क्षेत्र प्राथमिकतामा 

निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाइमा उच्च हिमाली र हिमाली क्षेत्रलाई प्राथमिकतामा राखेको छ । ढ्वानीका लागि समय लाग्ने क्षेत्रको मतपत्र छपाइ पहिले गरिएको हो । उच्च हिमाली क्षेत्रमध्ये केहीमा हेलिकोप्टरबाट निर्वाचन सामग्रीसमेत पठाउनुपर्ने अवस्था छ । जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ भइरहेको छ । 

हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुमपश्चिम, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेलधुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ र गुल्मीलगायतको जिल्लाको छपाइ सम्पन्न भएको  छ । ती जिल्लाका मतपत्र प्याकिङसमेत भइसकेको आयोगले जनाएको छ । 

आयोगका अनुसार मतदाता शिक्षाका लागि १० लाख ९८ हजार २०० मतपत्र छापिएका छन् । यस्तै समानुपातिकका लागि दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ । छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ । प्रत्यक्षतर्फ माघ २३ गते बिहान ८ बजेसम्म ७० निर्वाचन क्षेत्रका जम्मा ८४ लाख ४० हजार मतपत्र छपाइ भएको छ । सात हजार १३४ बाकस प्याकिङ भइसकेको छ ।