• ८ चैत २०८२, आइतबार

तिस वर्षको तथ्याङ्क

‘फागुन २० देखि २२ मौसम सफा’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २४ गते । तिस वर्षको मौसमी तथ्याङ्कले हरेक वर्षको फागुन २०, २१ र २२ गतेको मौसम सफा रहेको देखाएको छ । आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा हिमाली जिल्लाको मौसम खराब रहन सक्ने र जसकारण निर्वाचन प्रक्रियै बिथोलिन्छ कि भन्ने बहस भइरहेको बेला मौसम विज्ञान विभागले यस्तो तथ्याङ्क निर्वाचन आयोगलाई बुझाएको छ । 

सम्भावित मौसमी बदलावका कारण हिमाली जिल्लाको निर्वाचन सार्नुपर्ने हो कि भन्ने सर्वत्र चासो बढेपछि आयोगले मौसम विज्ञान विभागसँग मौसमी भविष्यवाणी मागेको थियो । हाल विभागसँग अधिकतम एक साताको मात्रै मौसमी भविष्यवाणी गर्न संयन्त्र भएका कारण फागुन २१ गतेसम्मको तथ्याङ्क भने दिन सकेन । 

आयोगकै आग्रहमा विभागले विगत तिस वर्षको तथ्याङ्क केलाएको थियो । उक्त तथ्याङ्क विभागले शुक्रबार मात्रै निर्वाचन आयोगमा बुझाएको छ । उक्त तथ्याङ्क केलाउँदा औसतमा फागुन २० देखि २२ गतेसम्म कुनै पनि वर्ष मौसममा बदलाव नदेखिएको आयोगका प्रवक्ता नारायण भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “यो मितिमा मौसम सुक्खै रहेको पाइएको छ । कुनै पनि वर्षाको सम्भावना देखिएन । तसर्थ आगामी निर्वाचनमा पनि मौसम बाधक बन्दैन भन्ने हामीले अपेक्षा गरेका छौँ ।” तर निर्वाचनको मितिसम्म विभागबाट हरेक साताको मौसमी जानकारी भने लिइरहने र सोही अनुसार चनाखो भइरहने भट्टराईले बताउनुभयो । 

सरकारले भने अहिले नै सम्भावित मौसमी परिणामलाई आकलन गरेर मतदानको मिति सार्ने विषयमा हल्ला नफैलाउन सञ्चारमाध्यम तथा सम्बद्ध सबैलाई अनुरोध गरिरहेको छ ।  यसैबिच निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको विषयमा परेको उजुरीका सम्बन्धमा निर्वाचन आयोगले सोधेको जवाफमा २४ दल तथा उम्मेदवारले स्पष्टीकरण बुझाएका छन् । 

निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता भट्टराईले आचारसंहिता उल्लङ्घनका विषयमा आयोगमा परेका उजुरीका आधारमा ३४ दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएको छ । तर स्पष्टीकरण सोधिएका उम्मेदवार तथा दल र उनीहरूले बुझाएको जवाफका विषयमा भने आयोगले केही पनि सार्वजनिक गरेको छैन ।

“उम्मेदवारले बुझाउनुभएको स्पष्टीकरणका सम्बन्धमा आयोगले अध्ययन गरेर एकैपटक व्यवस्थित रूपमा सबै विवरण सार्वजनिक गर्छ,” भट्टराईले भन्नुभयो, “आचारसंहिता उल्लङ्घनका घटनालाई आयोगले बेवास्ता गरेको छैन ।”

आचारसंहिता उल्लङ्घनका घटनाको प्रकृति अनुसार स्पष्टीकरण सोध्ने र सचेत गराउने कानुनी व्यवस्था फरक फरक भएका कारण पनि अध्ययन गर्न समय लागेको भट्टराईले स्पष्ट पार्नुभयो । निर्वाचन प्रक्रियालाई थप व्यवस्थित र सुधार्न आफूहरू सदैव तयार रहेको प्रतिबद्धता जनाउँदै आयोगले आचारसंहिताको पूर्ण पालना गर्न सबै पक्षलाई आग्रह गरेको छ ।

पछिल्लो समय आचारसंहिता उल्लङ्घनका विषयमा जिल्लास्तरमै उजुरी सङ्कलन गर्न सक्ने र फस्र्योट पनि उतै गर्न सक्ने व्यवस्था भएका कारण केन्द्रमा आउने उजुरीको सङ्ख्यामा कमी आएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।