• २३ माघ २०८२, शुक्रबार

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

blog

प्रवीणकुमार शर्मा

रौतहट, फागुन २३ गते। रौतहटमा स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौर नगरपालिका–१ का ४४ वर्षीय राकेशप्रसाद रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान १०:३० बजे गौर नगरपालिका–३ स्थित सडक खण्डमा नियमित जाँच गर्ने क्रममा गौर भन्सार कार्यालयतर्फबाट बीपी चोकतर्फ आउँदै गरेको बीआर ३० यु ७२४७ नम्बरको मोटरसाइकल रोकी खानतलासी गरेको थियो। त्यस क्रममा मोटरसाइकलको लेगार्डमा प्लास्टिकको झोलाभित्र लुकाइछिपाई राखिएको चार लाख ९९ हजार रुपैयाँ फेला परेको प्रवक्ता बस्यालले बताउनुभयो।

बरामद गरिएको रकमको स्रोतसम्बन्धी आवश्यक कागजात माग गर्दा वैध स्रोत खुलाउन नसकेपछि नगद, मोटरसाइकल र चालक राकेश प्रसादलाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।