काठमाडौँ, माघ २३ गते । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सङ्घीय राजधानी उपत्यकाअन्तर्गत पर्ने काठमाडौँ, ललितपुर र भक्तपुरका कांग्रेस उम्मेदवारका तर्फबाट साझा योजनासहितको प्रतिबद्धता तयार पार्ने गृहकार्य थाल्नुभएको छ।
काठमाडौँ क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहनुभएका महामन्त्री पौडेलले उपत्यकाको दिगो विकासका लागि आगामी पाँच वर्षमा गरिने साझा कामको खाका बनाउने पहल गर्नुभएको हो।
उक्त खाका तयार पार्न उहाँले सङ्घीय राजधानीको यातायात, पूर्वाधारसहितका मुद्दामा उम्मेदवारसँग परामर्श गरिरहनुभएको छ। परामर्शपश्चात् तयार पारिने योजना सार्वजनिक गर्ने तयारी गरिएको महामन्त्री पौडेलले बताउनुभयो।
“सङ्घीय राजधानीमा धेरै जिल्ला र क्षेत्रहरू छन्,” उहाँले भन्नुभयो, “आ-आफ्नो क्षेत्रको मात्र कुरा गर्नुभन्दा सबै जिल्ला र क्षेत्रको विकासमा साझा सहमति जुटाएर अघि बढेमा नागरिकमाझ जान र आगामी दिनमा काम गर्नसमेत सहज हुने विश्वास छ।”
महामन्त्री पौडेलले सांसद रहँदा उपत्यकाको चक्रपथ (रिङरोड) विस्तारका लागि उपत्यकाभित्रका सांसदहरूसँगको सहकार्यमा दबाबमूलक अभियान चलाउनुभएको थियो। फलस्वरूप अहिले काठमाडौँभित्रको चक्रपथ विकास योजनाले गति लिएको र सडक व्यवस्थित गर्ने प्रक्रिया अघि बढिरहेको छ।