• २३ माघ २०८२, शुक्रबार

मकवानपुरमा दुई दर्जन मतदान स्थल अतिसंवेदनशील

blog

जिल्ला प्रशासन कार्यालय मकवानपुर।

राममणि दाहाल

मकवानपुर, माघ २३ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि मकवानपुरमा निर्वाचन सुरक्षाको पूर्वतयारी सुरु गरिएको छ।

भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाएर जिल्लामा एक महिनाअघिदेखि नै सुरक्षा सतर्कता बढाइएको हो। दुई वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लाको सुरक्षा व्यवस्था सुदृढ बनाउन जिल्ला सुरक्षा समितिको निर्णयअनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्न आवश्यक सुरक्षा तयारी सुरु गरिएको जानकारी दिनुभयो। उहाँले निर्वाचन विशेष सुरक्षा योजना कार्यान्वयनको चरणमा गइसकेको बताउँदै १६७ मतदान स्थल र ३७४ मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, त्यसपछि सशस्त्र प्रहरी र अन्तिम घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्ने उल्लेख गर्नुभयो।

सुरक्षा संवेदनशीलताका आधारमा मतदान स्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन वर्गमा विभाजन गरिएको छ। उहाँले भन्नुभयो, “निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षाका सबै उपाय अपनाइने छ। मकवानपुरका झन्डै दुई दर्जन मतदान स्थल अतिसंवेदनशील सूचीमा रहेका छन्।”

उहाँले थप स्पष्ट पार्नुभयो, “अवस्थाअनुसार सुरक्षा स्थिति परिवर्तन हुन सक्छ। हिजो अतिसंवेदनशील भनिएको स्थान भोलि सामान्य र आज सामान्य भनिएको स्थान भोलि संवेदनशील सूचीमा पर्न सक्छ। आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिने छ।”

सहायक प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार मकवानपुरमा हाल २० देखि २५ वटा मतदान स्थल अतिसंवेदनशील सूचीमा छन्। यसअघि १९ वटा स्थललाई अतिसंवेदनशील, ६० लाई संवेदनशील र ८८ वटालाई सामान्य श्रेणीमा राखिएको थियो। अतिसंवेदनशील मानिएका १९ स्थलमा २६ मतदान केन्द्र पर्दछन्, जसमा सबैभन्दा बढी बकैया गाउँपालिकामा ५ वटा स्थल रहेका छन्। यस्तै, राक्सिराङमा ६, बागमतीमा ५ तथा भीमफेदी, मनहरी र कैलाश गाउँपालिकामा एक–एक स्थल अतिसंवेदनशील सूचीमा परेका थिए।

जोशीले बुधबारदेखि नेपाली सेनाले निर्वाचन लक्षित गस्ती सुरु गरेको जानकारी दिँदै अवाञ्छित गतिविधि नियन्त्रण गर्न र अवरोध सिर्जना गर्ने तत्वलाई निरुत्साहित गर्न सुरक्षाकर्मीलाई कडा निर्देशन दिइएको बताउनुभयो।

यसैबिच, मकवानपुरमा निर्वाचनका लागि तीन हजारभन्दा बढी कर्मचारी खटिने भएका छन्। ३७४ मतदान केन्द्रमा स्वयंसेवकसहित कुल ३ हजार ३६६ कर्मचारी परिचालन हुनेछन्। बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले एउटा केन्द्रमा आयोगका तर्फबाट ६ जना कर्मचारी र ३ जना स्थानीय स्वयंसेवक नियुक्त गरिने जानकारी दिनुभयो।

मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ६२ मतदान स्थल र १७८ मतदान केन्द्र रहेका छन् भने क्षेत्र नम्बर २ मा १०५ मतदान स्थल र १९६ मतदान केन्द्र छन्। यसबाहेक भीमफेदी कारागार र कर्मचारीका लागि हेटौँडामा अस्थायी मतदान केन्द्र रहनेछ। मकवानपुरमा कुल मतदाता सङ्ख्या ३ लाख १५ हजार ३३४ कायम भएको छ।