अनिल पराजुली
हेटौँडा, माघ २३ गते । मकवानपुरको थाहा नगरपालिकामा श्रम दान गरेर एकल महिलाका लागि घर निर्माण गरिएको छ । थाहा नगरपालिका –४ स्थित शिखरकोट निवासी एकल महिला चिनीमैयाँ नेपालीको जीर्ण तथा बस्न अयोग्य अवस्थामा रहेको घर श्रमदान गरेर नयाँ पक्की घर निर्माण गरिएको हो ।
नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेश पूर्व सामाजिक विकासमन्त्री कुमारी मोक्तानले एक कार्यक्रमबिच चिनीमैयाँ नेपालीलाई पक्की घरको साँचो हस्तान्तरण गर्नुभएको हो । घर निर्माणका लागि वाइसिएल नेपाल, थाहा नगर कमिटीले श्रमदानसहित आर्थिक खर्च बेहोरेको थियो ।
वाइसीएल थाहा नगर कमिटी अध्यक्ष केशव सुनारका अनुसार चिनीमैयाँ नेपाली विगतदेखि नै जिर्ण अवस्थामा रहेको पुरानो कटेज घरमा बस्दै आउनुभएको थियो । घरको छानोबाट पानी चुहिने, बस्न अत्यन्त कठिन र कष्टकर अवस्था रहेको र आर्थिक अवस्था निकै कमजोर भएकाले वाइसिएलले घर निर्माण गरिदिएको हो ।
“श्रम तथा उत्पादनमा वाइसीएल अभियान” अन्तर्गत २०८२ साउन १० गते बिहान १० बजेदेखि श्रमदान कार्यक्रममार्फत घर पुनःनिर्माण कार्यको प्रारम्भिक चरण सुरु गरिएको थियो । नयाँ घर पाएपछि एकल महिला चिनीमैयाँ नेपाली खुसी हुनुभयो । उहाँले घर निर्माण गरिदिएकोमा धन्यवाद दिनुभयो ।
वाइसीएल थाहा नगर कमिटी अध्यक्ष केशव सुनारले यस मानवीय कार्यलाई सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक रूपमा सहयोग गर्ने सम्पूर्ण पार्टी पङ्ति, वाइसिएल पदाधिकारी तथा कार्यकर्तालाई धन्यवाद व्यक्त गर्नुभयो । राजनीतिक दल तथा युवाहरूको सक्रिय सहभागितामा गरिएको यो कामले समाजमा सहयोग, सहकार्य र मानवीय भावनाको सशक्त सन्देश दिएको उहाँको भनाइ छ ।
कार्यक्रममा थाहा नगरपालिका प्रमुख विष्णु बिष्ट, वाइसिएल नेपाल थाहा नगर कमिटीका पदाधिकारीहरू, नेकपाका नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो ।