• २३ माघ २०८२, शुक्रबार

टुथपेस्टलगायत सौन्दर्यका सामग्रीको नियमन गर्न सङ्घको माग

blog

काठमाडौँ, माघ २३ गते । टुथपेस्टलगायतका विभिन्न सौन्दर्य सामग्रीको नियमन गर्न चिकित्सक सङ्घले माग गरेको छ । 

दैनिक उपभोग्य सामग्रीमा सिसाको बढी भएको भन्दै गुणस्तर मापन गर्नुका साथै कडा नियमन गर्न चिकित्सक सङ्घले सरकारसँग माग गरेको हो ।  

सङ्घले  जारी वित्रप्तिमा “दैनिक प्रयोगमा आउने टुथपेस्ट, मुख तथा दन्त सरसफाइका सामग्रीसहित विभिन्न सौन्दर्य सामग्रीमा मानव स्वास्थ्यका लागि हानिकारक सिसा (लिड)को मात्रा अत्यधिक पठाइएकोमा सङ्घको ध्यानाकर्षण भएको छ । बालबालिका मात्र नभई आम नागरिकको स्वास्थ्यमा समेत गम्भीर असर पार्ने यस्ता सामग्रीको गुणस्तर मापदण्ड सुनिश्चित गर्दै कडा नियमन गर्न सङ्घले नेपाल सरकारसँग जोडदार माग गर्दछ ”, उल्लेख छ । 

जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रले गरेको अध्ययनअनुसार देशका विभिन्न शहरका पसलबाट सङ्कलन गरिएका नमुना मध्ये ३१ प्रतिशतमा अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी सिसा भेटिएको छ।

 साथै, दैनिक प्रयोग हुने टुथपेस्टका ४५ प्रतिशत नमुनामा सिसा भेटिनु गम्भीर चिन्ताको विषय हो । विश्व स्वास्थ्य सङ्गठनलगायत स्वास्थ्यसम्बन्धी निकायहरूले सिसा मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुने पुष्टि गरिसकेका छन्। 

विशेषगरी बालबालिकामा यसले बौद्धिक विकासमा अवरोध, सिकाइमा कठिनाइ, व्यवहारिक समस्या तथा दीर्घकालीन रूपमा दृष्टि, श्रवण र स्नायु प्रणालीमा नकारात्मक असर पार्ने सङ्घको विज्ञप्तिमा उल्लेख छ।