अविनाश चौधरी
धनगढी, माघ २३ गते । बैतडी बस दुर्घटनामा घाइते भई सरकारी अस्पतालमा उपचार गराइरहेका व्यक्तिहरूको उपचार अवधिभरको औषधोपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्ने भएको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी अस्पतालमा उपचाररत घाइतेको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको हो। यसैगरी, प्रदेश सरकारले मृतकका परिवारलाई मानवीय सहायतास्वरूप जनही एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ।
बिहीबार राति बैतडीबाट जन्ती लिएर बझाङतर्फ गइरहेको बस पुर्चौडी नगरपालिका–७, बडगाउँमा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा गम्भीर घाइते भएकाहरूको थप उपचारका लागि काठमाडौँसम्म लैजानुपर्ने भएमा हेलिकोप्टर व्यवस्थापनका लागि प्रदेश सरकार तयारी अवस्थामा रहेको जनाइएको छ।
यसैबिच, मुख्यमन्त्री कमलबहादुर शाहले उक्त दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।