• २३ माघ २०८२, शुक्रबार

दुर्गमका मतदान स्थलको स्थलगत अनुगमन

blog

आठबिसकोट नगरपालिका-११ मा रहेको मतदान स्थलको अनुगमनका क्रममा । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, माघ २३ गते । रुकुमपश्चिममा जिल्ला सुरक्षा समितिको अगुवाईमा मतदान स्थलहरूको स्थलगत अनुगमन भइरहेको छ । अनुगमन टोलीले भौगोलिक रूपले टाढा र विकटमा रहेका तथा सुरक्षा संवेदनशीलता वर्गीकरण गरिएका मतदान केन्द्रको स्थलगत अनुगमन गरेको हो । 

बिहीबार डोल्पाको सिमानामा पर्ने मतदान स्थलमा पुगेर मतदान स्थलको अनुगमन गरिएको छ भने अति संवेदनशील मतदान केन्द्रमा पर्ने आठबिसकोट नगरपालिका वडा १, २ र ३ का मतदान स्थलहरू भौगोलिक अवस्थिति आँकलन गरिएको छ । यस अघि जिल्लाका अन्य स्थानमा रहेका मतदान स्थलहरूको समेत नियमति अनुगमन भइरहेको बताइएको छ । 

आगामी फागुन २१ मा हुने प्रतिनिधीसभा सदस्य निर्वाचनका सुरक्षाका हिसाबले वर्गीकरण गरिएका मतदान स्थलहरूमा मध्ये अति संवेदनशील मतदान केन्द्र तथा स्थललाई विशेष चासो दिइएको जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले जानकारी दिनुभयो । सबै मतदान केन्द्रहरूको स्थलगत अनगुमनलाई तीब्रता दिइरहेको र अति संवेदनशील मतदान केन्द्रहरूमा विशेष चासो दिएको उहाँले बताउनुभयो । छ स्थानीय तह रहेको यस जिल्लाका ७३ वडामा ७६ वटा मतदान स्थल तथा १४० वटा मतदान केन्द्ररहेका छन् । जसमध्य २१ वटा मतदानस्थल भने अति संवेदनशील सूचिमा छन् । त्यसैगरी ४३ वटा मतदानस्थल संवेदनशील र १२ वटा मतदान स्थल सामान्य सूचिमा रहेका छन् । 

प्रजिअ थानीले सुरक्षा जोखिमका हिसाबले मतदान स्थलको वर्गीकरण गर्ने गरिएको र जिल्लामा सामान्यको तुलनामा धेरै मतदान स्थल अति संवेदनशील र संवेदनशील सूचिमा रहेको जनाउनुभयो । आठबिसकोट नगरपालिका १, २ र ३ वडामा रहेका तीन मतदान केन्द्र भौगोलिक विकटता र सुरक्षाको हिसाबले अति संवेदनशील रहेकोले मतपेटिका संकलन गर्न हेलिकोप्टरबाट उपयुक्त हुने राय माथिल्लो निकायमा दिइएको प्रजिअ थानीले उल्लेख गर्नुभयो । यी स्थानहरूमा सहज यातायात र सञ्चारको सेवा छैन भने हिमपातको कारण आउँजाउँमा कठिनाई हुने गर्दछ । 

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीस दिपेन्द्र थापा मगर, प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुखहरू, जिल्ला निर्वाचन अधिकारी लगायतको टोलीले भौगोलिक हिसाबले टाढा डोल्पाको सिमानामा रहेका, विकट क्षेत्रमा रहेका मतदान केन्द्रहरूको स्थलगत अनुगमन समेत गरेको हो । 

सो क्रममा स्थानीय तहका जनप्रतिनिधीहरू, राजनीनितक दलका स्थानीय कार्यकर्ता, विद्यालयका शिक्षक तथा सञ्चालक समिति, नागरिक समाज, युवा तथा गाउँका अगुवाहरू समेतसँग मतदान स्थलमा छलफल गरिएको जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका विभिन्न स्थानहरूमा रहेका मतदान स्थलहरूमा नियमित अनुगमन गरिएको छ। जिल्ला सुरक्षा समितिले पनि स्थलगत रूपमा मतदान स्थलको सुरक्षाका लागि योजना बनाइरहेको उहाँको भनाइ छ ।