भवानीदत्त भट्ट
कञ्चनपुर, माघ २३ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी हुन ठुला दलका उम्मेदवारलाई सकस पर्ने देखिएको छ । विगतका निर्वाचनमा सो निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी हुँदै आए पनि आगामी निर्वाचनमा भने झन्डै एक हजार मतदाताहरू झुटा आवश्वासन दिने उम्मेदवारलाई मत नदिने मनसाय बनाउन थालेपछि ठुलादलहरूलाई निर्वाचन जित्न मुस्किल पर्ने आँकलन गरिन थालेको हो ।
विगतका निर्वाचनमा झुटा आश्वासन दिलाएर शुक्लाफाँटा आरक्ष पीडितहरूका मतले विजयी हुँदै आएका उम्मेदवारहरूलाई आगामी निर्वाचनमा भने मत नखसाल्ने मनसाय बनाएको निकुञ्ज पीडितहरू बताउँछन् ।
निर्वाचन क्षेत्र २ मा विसं २०७४ मा भएको निर्वाचनमा नेकपा एमालेका नेता नरबहादुर धामी निर्वाचित हुनुभएको थियो । नेपाली कांग्रेसका नेता साउदलाई ८ हजार ३२७ मतान्तरले पराजित गर्दे नेता धामी विजयी हुनुभएको थियो । आफूहरूका मतले विजयी हुँदै आएका दलका उम्मेदवारहरूले निकुञ्ज पीडितको समस्या प्रति वास्ता नगर्दा आगामी निर्वाचनमा भने मत नखसाल्ने मनसाय बनाएको आरक्ष पीडित शेरबहादुर चुनाराले बताउनुभयो । झुटा आश्वासन दिलाएर निर्वाचित भएपछि आरक्ष पीडितका मागहरूका विषय प्रति कुनै चासो नदेखाउँदा पीडितहरू रुष्ट बनेका हुन् ।
यसैगरी, विसं २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुल खेसेको ६४ हजार ७५२ मतमध्ये चार हजार ९२० मत बदर भएको थियो । कांग्रेसका उम्मेदवार साउँदले २८ हजार एक सय मत पाउनुभएको थियो भने नेकपा एमालेका उम्मेदवार धामीले २१ हजार ६४५ मत प्राप्त गर्नुभएको थियो । तर नेता साउँद विजयी भएपछि भने आफूहरूलाई भेट्न समेत नआएको आरक्ष पीडित दलबहादुर ऐरले गुनासो गर्नुभयो ।
विगतका निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबिच भारी मतान्तरले प्रतिस्पर्धा भए पनि आगामी निर्वाचनमा समेत सोही प्रतिस्पर्धालाई निरन्तरता दिने तयारीमा दलहरू देखिए पनि मतदाताहरू भने रुष्ट बन्दै गएका छन् ।
आरक्ष पीडित सङ्घर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाले विगतका निर्वाचनमा झुटा आस्वान दिलाएर आफूहरूलाई बिचल्लीमा पारेको दुखेसो पोख्नुभयो । “यस अघिका निर्वाचनमा आफूहरूले नेकपा एमाले र कांग्रेसका उम्मेदवारलाई पालैपालो मत दियौँ”, उहाँले भन्नुभयो, “तर विजयी भएपछि भने उम्मेदवारहरूले आफूहरूका माग सम्बोधन नै गर्नुभएन ।”
निर्वाचन पूर्व नै अस्थायी शिविरका लागि जिल्ला प्रशासन कार्यालयबाट कागज बनाएर व्यवस्थापन गर्ने उम्मेदवारलाई सबै आरक्ष पीडितले मत खसाल्ने तयारी गरेको अध्यक्ष रोकायाले बताउनुभयो ।
आरक्ष पीडितहरुले व्यवस्थापन नगरिए ठुला दलका उम्मेदवारलाई मतदान नगर्ने तयारी गरेसँगै त्यसको प्रत्यक्ष फाइदा भने नयाँ दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई पुग्ने देखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी सहितका नयाँ दलका प्रतिनिधि तथा स्वतन्त्र उम्मेदवारहरू घर दैलो अभियानसँगै आगामी निर्वाचन पूर्व नै निकुञ्ज पीडितहरूको अस्थायी शिविर बसोवासको व्यवस्था मिलाउन शिविरमा बस्दै आएका आरक्ष पीडितहरू सँग भेटघाट गर्दे आउनुभएको छ । जसले गर्दा नयाँ दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले आरक्ष पीडितहरूको व्यवस्थापन गर्ने विश्वास दिलाउँदै आएपछि क्षेत्र नम्बर २ मा पुराना दलका उम्मेदवारहरूलाई विजयी हुन मुस्किल पर्ने आँकलन गरिन थालको छ । क्षेत्र नम्बर २ मा एक लाख नौ हजार ५७४ मतदाता हुनुहुन्छ । जसमध्ये एक हजारबढी निकुञ्ज विस्थापित मतदाता हुनुहुन्छ ।