• २३ माघ २०८२, शुक्रबार

धनकुटामा विद्यालय केन्द्रित एचपिभी खोप अभियान सञ्चालन हुने

blog

विद्यालय केन्द्रित एचपिभी खोप सञ्चालन तथा पूर्ण खोप सुनिश्चितता र दिगोपनसम्बन्धी समीक्षा तथा अभिमुखीकरण कार्यक्रम । तस्बिर : कबिराज घिमिरे

कबिराज घिमिरे
धनकुटा, माघ २३ गते ।
धनकुटामा माघ २७ देखि २९ गतेदेखि एचपिभी खोप अभियान सञ्चालन हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले विद्यालय केन्द्रित एचपिभी खोप सञ्चालन तथा पूर्ण खोप सुनिश्चितता र दिगोपनसम्बन्धी समीक्षा तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरी जानकारी दिएको हो ।

यो वर्ष १४१ वटा विद्यालयका एक हजार दुई सय ५७ जना, विद्यालय बाहिर रहेका २ जना तथा गत वर्ष छुट भएका ५७ जना गरी कुल एक हजार दुई सय ८६ जना किशोरीलाई खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ । गत आर्थिक वर्षमा जिल्लाभर कुल ६ हजार नौ सय ११ जना किशोरीलाई एचपिभी खोप लगाइएको थियो । जनस्वास्थ्य अधिकृत सिर्जना बन्जाडेका अनुसार एचपिभी खोप १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई दिइन्छ । यो खोप पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने खोप हो । विशेष गरी कक्षा ६ मा अध्ययनरत किशोरीलाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरिने उहाँले स्पष्ट पार्नुभयो ।

पाठेघरको मुखको क्यान्सर महिलामा मृत्यु हुने क्यान्सरमध्ये सबैभन्दा बढी रहेको जनाइएको छ । नेपालमा हाल दैनिक औसत चार जना महिलाको मृत्यु यही क्यान्सरका कारण हुने गरेको तथ्याङ्क रहेको छ । यस्तै, नियमित स्क्रिनिङ गरेमा यो उमेर समूह बाहेक अन्य अवस्थाका महिलामा पनि रोगको अवस्था पत्ता लगाउन सकिने र प्रत्येक ३–३ वर्षमा स्क्रिनिङ गर्नुपर्ने जनाइएको छ ।

धनकुटा जिल्लाका ६९ वटा स्वास्थ्य संस्थाबाट यो सेवा पूर्णरूपमा निःशुल्क उपलब्ध गराइँदै आएको छ । जिल्लामा हाल १६ प्रतिशतले पूर्ण खोप नपाएको र ४ प्रतिशतले कुनै पनि खोप नपाएको अवस्था रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।