राजन रावत
हुम्ला, माघ २३ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाभरका मतदान केन्द्रहरूमा पाँच सयभन्दा बढी कर्मचारी खटिने भएका छन् । निर्वाचनमा मतदान कार्य कुशलतापूर्वक सम्पन्न गर्न मतदाताको सङ्ख्याका आधारमा ती कर्मचारी खटाउने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको हो ।
जिल्लाभरका सबै मतदान स्थल तथा मतदान केन्द्रका लागि ५२५ जना कर्मचारी आवश्यक पर्ने र त्यसको रोस्टर तयार पार्ने कार्य पूरा भएको निर्वाचनका लागि कर्मचारी व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताउनुभयो । यसका लागि जिल्लामा कार्यरत सङ्घ, प्रदेश र स्थानीय तहका निजामती कर्मचारी, संस्थान तथा शिक्षकहरूको जिल्लाभरको विवरण तयार पार्ने कार्य पनि पूरा भएको उहाँले बताउनुभयो ।
जिल्लामा कुल ८५० जना कर्मचारी रहेका छन् । अधिकृतस्तरका कर्मचारी मात्र १२० जना पुगेकाले पहिलो पटक फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा अधिकृतहरू मतदान अधिकृतका रूपमा खटिने छन् । यसअघि अधिकृत कर्मचारी कम हुँदा नायब सुब्बा स्तरका कर्मचारीले मतदान अधिकृतको काम गर्नुपरेको थियो ।
एउटा मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र दुई जना कार्यालय सहयोगी खटिने छन् । आफ्नो समितिले निर्वाचनमा खटिने कर्मचारीको विवरण तयार पारिसकेको र केही दिनमा मुख्य निर्वाचन अधिकृतसमक्ष पेस गर्ने उहाँले बताउनुभयो ।
हुम्ला जिल्लामा ६० वटा मतदान स्थल र ६४ वटा मतदान केन्द्र निर्वाचन आयोगले कायम गरेको छ । २०७९ सालको संसदीय निर्वाचनमा ५८ मतदान स्थल र ६० वटा मतदान केन्द्र रहेका थिए । जिल्लाबाट ३४ हजार ३७२ मतदाताले मतदान गर्न पाउने गरी मतदाता सङ्ख्या कायम भएको छ । यसमा १८ हजार २१ पुरुष र १६ हजार ३५१ महिला मतदाता रहेका छन् । २०७९ सालको निर्वाचनमा मतदाता सङ्ख्या ३३ हजार ३०८ रहेको थियो । उक्त निर्वाचनको तुलनामा यस पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक हजार १९४ मतदाता सङ्ख्या बढेको छ ।
त्यसैगरी जिल्ला सुरक्षा समितिले २७ वटा मतदान स्थललाई अति संवेदनशील ठहर गरिसकेको छ भने २१ वटा संवेदनशील र १० वटा सामान्य मतदान स्थल रहेका छन् ।