• २३ माघ २०८२, शुक्रबार

मनहरीमा ट्रक दुर्घटनाः दुई जना घाइते

blog

मनहरीमा दुर्घटनाग्रस्त ट्रक । तस्बिर :अनिल पराजुली

अनिल पराजुली    
हेटौँडा, माघ २३ गते ।
पूर्व पश्चिम सडक खण्डअन्तर्गत मकवानपुरको मनहरीमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शुक्रबार बिहान करिब ५ः४० बजे मनहरी–७ शिविरमा ट्रक दुर्घटना हुँदा चालक पर्सा वीरगन्ज महानगरपालिका–३१ बस्ने २७ वर्षीय सन्दीप चौधरी र सहचालक सोही स्थानका २० वर्षीय विशाल चौधरी घाइते हुनुभएको हो ।

घाइते दुबै जनाको हात, छाती र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिनुभयो । दुबै जनाको उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको उहाँले बताउनुभयो । हेटौँडाबाट चितवन तर्फ चामल लोड लिइ जाँदै गरेको ना. ६ ख. ६५७४ नं.को ट्रक ब्रेकफेल भई रोड बाट बायाँ साईडमा पल्टेको थियो ।

दुर्घटना स्थलमा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी सहायक निरीक्षक बिसुन देब महत्तोको कमान्डमा ट्राफिकसहितको ५ जनाको टोली पुगेको थियो । दुर्घटनाग्रस्त ट्रक घटनास्थलमा नै रहेको छ भने बाटो अवरोध नरहेको प्रहरीले जनाएको छ । 

लेखक बाट थप