गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २३ गते । प्रतिनिधि सभाको प्रत्यक्षतर्फको १६५ सिटका लागि ६५ वटा राजनीतिक दल र स्वतन्त्र गरी तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा हुँदा करिब २३२ अर्थात् ६.८१ प्रतिशत दलित समुदायका व्यक्ति चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
प्रत्यक्षतर्फको उम्मेदवारीमा समावेशिताका हिसाबले सन्तोषजनक नदेखिए पनि २३२ जनाको सङ्ख्यालाई सानो मान्न नसकिने दलित नागरिक समाजको दाबी छ तर दलित गैरसरकारी संस्था महासङ्घका अध्यक्ष जेबी विश्वकर्मा भन्नुहुन्छ, “प्रमुख दलले दलितलाई एक/दुई ठाउँमा मात्र उम्मेदवारी दिए । साना र नयाँ पार्टीले दलितलाई उम्मेदवार त बनाएका छन् तर प्रतिस्पर्धामा आउन सक्ने अवस्था कमजोर देखिन्छ ।”
डिग्निटी इनिसिएटिभको अध्ययन अनुसार प्रत्यक्षतर्फ विभिन्न दलका खसआर्य उम्मेदवार एक हजार ३२० (३८.७६ प्रतिशत) रहेका छन् । आदिवासी जनजातिका ८१३ अर्थात् २३.८७ प्रतिशत छन् । मधेशी ७७८ जना अर्थात् २२.८४ प्रतिशत छन् भने दलित २३२ जना अर्थात् ६.८१ प्रतिशत उम्मेदवार छन् । त्यस्तै थारू १४१ जना अर्थात् ४.१४ प्रतिशत र मुस्लिम १२२ जना अर्थात् ३.५८ प्रतिशत छन् । महिला उम्मेदवार ३८८ अर्थात् ११.३९ प्रतिशत छन् ।
मूलधारका राजनीतिक दलभन्दा नयाँ, साना र क्षेत्रीय दलबाट प्रत्यक्षमा दलित समुदायले बढी सङ्ख्यामा प्रतिस्पर्धा गर्दै छन् । नेपाली कांग्रेसबाट दलितले जम्मा एउटा निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दै छन् । बझाङबाट कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ चुनावी मैदानमा हुनुहुन्छ । विद्यार्थी राजनीति र दलित आन्दोलनबाट उदाएका स्नेही नेकपा (एमाले) का ऐन महर, नेपाली कम्युनिस्ट पार्टीका मीनबहादुर कुँवर र राष्ट्रिय स्वतन्त्र पार्टीका शैलेशकुमार सिंहलगायतसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । स्नेही प्रतिनिधि सभाका निवर्तमान सांसद हुनुहुन्छ ।
नेकपा (एमाले) का दुई उम्मेदवार डडेलधुराबाट चक्रप्रसाद रसाइली ‘स्नेही’ ले कांग्रेसका नैनसिंह महर, नेकपाका मानसिंह माललगायतसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । त्यस्तै बर्दिया–२ बाट एमालेकी विमला विकले कांग्रेसका किशोरसिंह राठौर र नेकपाका सुरेश पन्तलगायतसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । विक पूर्वराज्यमन्त्री हुनुहुन्छ । एमालेले बाँके–३ बाट दलबहादुर सुनार, बझाङबाट ओफीलाल ओखेडाको टिकट फिर्ता गराएको थियो ।
नेपाली कम्युनिस्ट पार्टीबाट तीन जनाले प्रतिस्पर्धा गर्दै हुनुहुन्न्छ । स्याङ्जा–२ मा पदम विश्वकर्माले एमालेका खिमबहादुर थापा र कांग्रेसका भागवत प्रकाश मल्लसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
नेकपाका मानबहादुर सुनारले कञ्चनपुर–३ मा कांग्रेसका हरि बोहोरा र एमालेका डा. दीपकप्रकाश भट्टलगायतसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । सुनार सुदूरपश्चिम प्रदेश सरकारका पूर्वराज्यमन्त्री हुनुहुन्छ । नेकपाका इन्द्र भुसालले काठमाडौँ–४ मा एमालेका राजन भट्टराई र कांग्रेसका सचिन तिमिल्सिनालगायतसँग प्रतिस्पर्धामा हुनुहुन्न्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुराना दलले भन्दा पनि कम सङ्ख्यामा प्रत्यक्षतर्फ दलितलाई उम्मेदवारी बनाएको छ । बाँके क्षेत्र–३ मा खगेन्द्र सुनारले एमालेका सुमन मल्ल, कांग्रेसका अमरसिंह पुन र नेकपाका दीपक जिएमलगायतसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । त्यस्तै इलाम–१ बाट रास्वपाका विमल गदालले एमालेका काजीमान कागते, कांग्रेसका निस्कल राई र नेकपाका रणबहादुर राईलगायतसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
कांग्रेस, एमाले, नेकपा र रास्वपाका दलित उम्मेदवारभन्दा अन्य साना दलमा दलित उम्मेदवारको सङ्ख्या धेरै छ । अध्ययन अनुसार जनता समाजवादी पार्टी, नेपालले सात जना दलित समुदायका व्यक्तिलाई प्रत्यक्ष उम्मेदवार बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई जनालाई प्रत्यक्ष उम्मेदवार बनाएको छ । बर्दिया–१ बाट वीरबहादुर कामी र सल्यानबाट अनिशा नेपाली चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । राष्ट्रिय जनमोर्चाले तीन जना दलितलाई प्रत्यक्ष उम्मेदवारी बनाएको छ ।
त्यस्तै नेकपा माओवादीबाट २० जना, नेपाल मजदुर किसान पार्टीबाट पाँच जना, श्रम संस्कृति पार्टीबाट आठ जना, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पाँच जना, उज्यालो नेपाल पार्टीबाट चार जना, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबाट एक/एक जनाले प्रत्यक्षमा चुनावी प्रतिस्पर्धा गर्दै छन् ।