• २३ माघ २०८२, शुक्रबार

पैँतिस वर्षमुनिका एघार युवा चुनावी प्रतिस्पर्धामा

blog

दाङ समाचारदाता

दाङ, माघ २३ गते । दाङमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ३५ वर्षमुनिका ११ युवा चुनावी मैदानमा उत्रिएका छन् । हालै सरकारले स्वीकृत गरेको ‘राष्ट्रिय युवा नीति–२०८२’ अनुसार १८ देखि ३५ वर्ष उमेर समूहलाई युवा मानिने व्यवस्था गरिएको छ । यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ मा भने १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मानिने व्यवस्था थियो ।

नयाँ नीति अनुसार परिभाषित युवा उमेर समूहभित्र पर्ने उम्मेदवार दाङका तीन वटै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा सहभागी भएका हुन् । कुल उम्मेदवार सङ्ख्याका आधारमा हेर्दा ३५ वर्षमुनिका युवाको सहभागिता १८.३३ प्रतिशत छ । यद्यपि सहभागी युवाको ठुलो हिस्सा स्वतन्त्र उम्मेदवारका रूपमा देखिनु नेपाली राजनीतिमा फरक सन्देश बोकेको विषय बनेको छ ।

दाङ निर्वाचन क्षेत्र नं. १ मा कुल १४ जनाको उम्मेदवारी परेको छ । तीमध्ये दुई जना ३५ वर्षमुनिका युवा उम्मेदवार छन्, जुन कुल उम्मेदवार सङ्ख्याको १४.२८ प्रतिशत हो । यस क्षेत्रमा राष्ट्रिय परिवर्तन पार्टीबाट ३२ वर्षीय रञ्जित चौधरी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३२ वर्षीय विनय बिसी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

यस्तै दाङ–२ मा २१ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये चार जना उम्मेदवार युवा छन् । कुल उम्मेदवारको १९.०४ प्रतिशत हो । यस क्षेत्रबाट २६ वर्षीय प्रतीक अधिकारीले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिनुभएको छ । उहाँ दाङ जिल्लाकै सबैभन्दा कान्छा उम्मेदवार हुनुहुन्छ । यसै क्षेत्रमा ३० वर्षीय समीर वली, २९ वर्षीय विष्णुविक्रम सेन वली स्वतन्त्र उम्मेदवारका रूपमा र रेखबहादुर पुनमगरले मितेरी पार्टी नेपालबाट उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धामा होमिनुभएको छ । 

त्यसै गरी दाङ–३ मा युवा सहभागिता तुलनात्मक रूपमा बढी देखिएको छ । यहाँ २५ उम्मेदवारमध्ये पाँच युवा उम्मेदवार छन्, जुन कुल उम्मेदवार सङ्ख्याको २० प्रतिशत हो । 

यस क्षेत्रमा उम्मेदवारी दिने सबै युवा स्वतन्त्र उम्मेदवार छन् । ३१ वर्षीय भागीराम चौधरी, ३१ वर्षीय सुरेश नेपाली, ३२ वर्षीय प्रेमबहादुर वली, ३२ वर्षीय सम्प्रिक कँडेल र ३५ वर्षीय इन्द्रबहादुर बस्नेत चुनावी मैदानमा होमिनुभएको छ तर यस क्षेत्रसहित तीन वटै निर्वाचन क्षेत्रमा युवा महिला उम्मेदवारको सङ्ख्या भने शून्य छ । 

प्रमुख राजनीतिक दलले ३५ वर्षमुनिका युवालाई उम्मेदवारका रूपमा अघि सार्न नसक्नु भने आलोचनायोग्य विषय बनेको युवा अधिकारकर्मी कृष्ण चौधरीले बताउनुभयो । साना दल तथा स्वतन्त्र रूपमा युवा सक्रिय देखिए पनि पुराना र नयाँ भनिएका मुख्य दलमा युवा नेतृत्वको अभाव स्पष्ट रहेको उहाँको भनाइ थियो ।