सिराज खान
नेपालगन्ज, माघ २३ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारले विभिन्न वाचा तथा प्रतिबद्धतासहित मतदातासँग भेटघाट गरिरहेका छन् । मतदातले पनि निर्वाचन क्षेत्रका विभिन्न समस्यालाई उम्मेदवारसामु राख्न थालेका छन् । सोही क्रममा बाँके क्षेत्र नं. १ का मतदाताले हालसम्म मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन र राप्ती नदीको कटान र डुबानलाई प्रमुख चुनावी मुद्दा बनाएका छन् ।
कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका समेटिएको सो निर्वाचन क्षेत्रमा बाँके राष्ट्रिय निकुञ्जका कारण मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको छ भने राप्ती नदीको कटान र डुबानबाट पनि हरेक वर्ष ठुलो क्षति हुँदै आएको छ । राप्तीसोनारी गाउँपालिका–९, तल्लो महादेवानिवासी हेम चापागाईंले दिनहुँ जसो जङ्गली जनावर बस्तीमा पस्ने, हिंस्रक जनावरको आक्रमणबाट मानिसको मृत्यु हुनेलगायतका घटना बढिरहेकाले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि राम्रो योजना ल्याउने उम्मेदवारलाई मात्र मतदान गर्ने बताउनुभयो ।
निकुञ्ज मध्यवर्ती क्षेत्रसहित आसपासका खेती जङ्गली जनावरले खाएर नोक्सान गर्ने र बाघको आक्रमणबाट पशु तथा मानवले ज्यान गुमाउनुपर्ने अवस्था रहेकाले पार्टी तथा उम्मेदवारले यसलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ । चालु आर्थिक वर्षको छ महिनामा मात्रै राप्तीसोनारी–९, गुरुवागाउँ नमुनाटोल निवासी ४० वर्षीय इन्द्रबहादुर खत्री र राप्तीसोनारी गाउँपालिका–१, कुसुमस्थित सौरीनिवासी मरीचमान भण्डारीले बाघको आक्रमणबाट ज्यान गुमाउनुभएको छ । सो क्षेत्रमा यस्ता घटना निरन्तर हुँदै आएका छन् ।
राप्तीसोनारी गाउँपालिका–१ का वडाध्यक्ष यमबहादुर खड्काले बाघलगायत जङ्गली जनावरको आक्रमणबाट अकालमै मान्छेको ज्यान जानुका साथै पशु र खेतीबालीमा ठुलो क्षति बेहोर्दै आएकाले त्यसको समाधान गर्न मतदाताले अवाज उठाएको बताउनुभयो । राप्तीसोनारी–७ का अरुण यादवले राप्ती नदीको कटान र डुबान यस क्षेत्रका बासिन्दाका लागि सबैभन्दा ठुलो समस्या बनेको बताउँदै यस पटक यसैलाई चुनावी मुद्दा बनाएको बताउनुभयो ।
वडा नम्बर ७ का वडाध्यक्ष रामलखन थारूले पनि राप्तीको डुबान र कटान रोक्नेलाई यस क्षेत्रमा समर्थन मिल्ने, अन्यलाई सहयोग नगर्ने जनचाहना रहेको आफूले पाएको बताउनुभयो । बाँके–१ बाट उम्मेदवार बनेका नेकपाका नरेन्द्र पाण्डेले जनतासँगको भेटमा वन्यजन्तुको व्यवस्थापन जसरी पनि गर्ने प्रतिबद्धता जनाउनुभयो । सोही प्रकारको प्रतिबद्धता नेपाली कांग्रेसका उम्मेदवार नारायण गौडेलले पनि गर्नुभएको छ ।
एमालेबाट गत निर्वाचनमा विजयी भई फेरि उम्मेदवार बनेका सूर्य ढकालले विगतमा वन्यजन्तुबाट जनतालाई सुरक्षित गर्न निकुञ्ज क्षेत्रमा तारबार गर्ने योजना सुरु गरेको जनाउँदै अब थप योजना र काम अघि बढाउने बताउँदै आउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश चौधरी र प्रगतिशील लोकतान्त्रिक पार्टीका कृष्णा केसी नमुनाले पनि मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि काम गर्ने वाचा गर्नुभएको छ । बाँके–१ मा २०७९ मा २५ हजार २६ मत ल्याएर एमाले उम्मेदवार ढकाल विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी तत्कालीन नेकपा (माओवादी केन्द्र) का नेता महेश्वर गहतराजले १९ हजार ६३२ मत प्राप्त गर्नुभएको थियो ।