वासुलिङ समाचारदाता
वासुलिङ (बैतडी), माघ २३ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न बैतडीमा सुरक्षा तयारी गरिएको छ । निर्वाचन सुरक्षाका लागि जिल्लाभर करिब दुई हजार छ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
जिल्ला सुरक्षा समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा निर्वाचन प्रहरी गरी दुई हजार ५९० सुरक्षाकर्मी खटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो ।
आवश्यकता अनुसार सुरक्षाकर्मीको सङ्ख्या थपघट गर्न सकिने उहाँले बताउनुभयो । निर्वाचनलक्षित बैतडीमा एक हजार ३७५ जना निर्वाचन प्रहरी छनोट भइसकेका छन् ।
उनीहरूका लागि हाल आधारभूत तालिम सञ्चालन भइरहेको छ, जसले मतदान स्थलको सुरक्षालाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।
सुरक्षा रणनीति अन्तर्गत नेपाली सेनाले पाटन, खोड्पे र शिवनाथको सुल्लेखानमा सुरक्षा बेस स्थापना गरिसकेको छ । त्यस्तै पाटन क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको सुरक्षा बेस पनि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका १२९ मतदान स्थलमध्ये ३३ अति संवेदनशील, २८ संवेदनशील र ६८ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । जिल्लाभर २१४ मतदान केन्द्र कायम गरिएका छन् ।
निर्वाचन व्यवस्थापनतर्फ पनि तयारी तीव्र पारिएको छ । निर्वाचनका लागि १० प्रतिशत जगेडासहित एक हजार ४४२ कर्मचारी परिचालन गरिने जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । कर्मचारी परिचालनका लागि जिल्लास्थित सरकारी कार्यालयबाट विवरण सङ्कलन भइसकेको र छिट्टै खटनपटन प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो । सुरक्षा, कर्मचारी व्यवस्थापन र पूर्वतयारीका सबै काम समयमै सम्पन्न गरेर मतदाताले ढुक्कसँग मतदान गर्न पाउने वातावरण बनाउँदै जाने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।