पाख्रीबास समाचारदाता
पाख्रीबास (धनकुटा), माघ २३ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षालाई लक्षित गरी धनकुटामा पनि सेना परिचान तीव्र पारिएकोे छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन नेपाल सरकारले दिएको निर्देशन अनुसार धनकुटामा पनि सेना परिचालन गरिएको भीम दल गण सल्लेरी धनकुटाका गणपति गणेश थापाले जानकारी दिनुभयो । उहाँका एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार धनकुटाका सात वटा पालिकामा आवश्यकता अनुसार सेना परिचालन गरिएको बताउनुभयो ।
गृह मन्त्रालयबाट प्रेसित एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ अनुरूप सेना परिचालन गरेको नेपाली सेनाले जनाएको छ । एकीकृत निर्वाचन सुरक्षा योजनामा नेपाली सेनाले अन्य सुरक्षा निकायसँगको सहकार्यमा नागरिक प्रशासनलाई सहयोग पु-याउने, संवेदनशील क्षेत्र तथा महìवपूर्ण पूर्वाधारको सुरक्षा, निर्वाचन अवधिभर उत्पन्न हुन सक्ने आपत्कालीन अवस्थामा शीघ्र प्रतिक्रिया दिई मतदाताको निर्बाध आवागमनमा सुनिश्चितता गर्नुका साथै निर्वाचन सामग्रीको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरण गर्नु रहेको छ ।
निर्वाचनभन्दा एक महिनाअगावै सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजना अनुरूप नेपाली सेनाले फिल्डमा खटिई सुरक्षा व्यवस्थालाई थप बलियो बनाउन अस्थायी बेस खडा गरी सैनिक गस्ती र आवश्यकता अनुसार संयुक्त गस्तीलाई प्रभावकारी रूपमा सञ्चालन गर्नेसमेत जनाइएको छ । यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालसँगको समन्वय र सहकार्यमा महìवपूर्ण तथा संवेदनशील क्षेत्रमा सुरक्षा जिम्मेवारी लिइने जनाएको छ । धनकुटामा कुल ११९ मतदान स्थलमा १६६ मतदान केन्द्र रहने छन् । यस्तै जिल्ला कारागार धनकुटामा र निर्वाचनमा नखटिएका कर्मचारीका लागि दुई वटा अस्थायी मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधि सभा सदस्यका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा एक लाख १८ हजार ४२५ मतदाता रहेका छन् ।