गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २३ गते । सार्वजनिक सेवा प्रवाहलाई आमजनतामाझ पु¥याउन नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भूमिका महìवपूर्ण हुने गृहमन्त्री ओमप्रकाश अर्यालले बताउनुभएको छ । कम्पनीको २२ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित औपचारिक कार्यक्रममा टेलिकम राज्यको महत्वपूर्ण सहयोगी संस्था भएको उल्लेख गर्नुभयो । “टेलिकम दूरसञ्चार संस्था मात्र होइन,” उहाँले भन्नुभयो, “यो राज्यको डिजिटल मेरुदण्ड हो ।”
टेलिकमले जनताबिचको डिजिटल विभेद कम गर्न र विद्युतीय सरकारको अवधारणा कार्यान्वयनमा योगदान पु¥याउँदै आएको गृहमन्त्री अर्यालले बताउनुभयो । उहाँले पछिल्लो समय नवीनतम प्रविधिको उच्च रूपले प्रयोग बढिरहेकाले कम्पनीले पनि आफ्नो ध्यान यसतर्फ केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो ।
“अबदेखि कम्पनीले नयाँ प्रविधिमा आधारित अत्याधुनिक सेवा प्रवाह गर्ने छ भन्नेमा विश्वस्त छु,” उहाँले भन्नुभयो ।
दूरसञ्चार क्षेत्रमा विद्यमान प्रतिस्पर्धामा आफूलाई सबल बनाउँदै सन्तुलित नवप्रवर्तन र गुणस्तरीय सेवामार्फत ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकता दिनुपर्ने उहाँको सुझाव थियो । कम्पनीसँग रहेको बृहत् सञ्जाल, दक्ष मानव पुँजी, उपलब्ध स्रोतको कुशल व्यवस्थापन गरी प्रतिस्पर्धात्मक क्षमता बढाएर कुशल कम्पनीका रूपमा रहन उहाँले आग्रह गर्नुभयो ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले घट्दो आम्दानी बढाउन टेलिकमले मेहेनत गर्न आवश्यक रहेको बताउनुभयो । कम्पनीले उपलब्ध गराइरहेको फाइबर टु दी होम (एफटिटिएच) सेवा अन्य प्रतिस्पर्धीको बराबर पनि छैन भन्ने गुनासो आइरहेको उहाँले जानकारी दिनुभयो ।
“यसमै राम्रो ग¥यो भने कुल २३ अर्बको बजारमा पाँच अर्ब लिन सक्ने अवसर छ,” उहाँले भन्नुभयो । त्यस्तै कल बाइपास, ओटिपी, भास सर्भिसलगायतबाट पनि डेढ अर्बसम्म आम्दानी बढाउन सक्ने ठाउँ रहेको उहाँले उल्लेख गर्नुभयो । आम्दानी बढाउने हिसाबले काम सुरु नगरे भविष्यमा अप्ठ्यारो पर्न सक्ने उहाँको धारणा थियो । “आजकै तरिकाले जसरी काम भइरहेको छ, त्यसरी दिगो स्थायित्वमा प्रश्न आउने देखियो,” उहाँले भन्नुभयो ।
टेलिकमलाई फाइभजी परीक्षणका लागि अवसर दिए पनि त्यो काम गर्न नसकेकोमा अध्यक्ष भण्डारीले असन्तुष्टि व्यक्त गर्नुभयो । “टेलिकमलाई मात्र त्यस्ता अवसर दिँदा त्यतिबेला समान अवसर (लेभल प्लेइङ फिल्ड) को कुरा उठेको थियो,” उहाँले भन्नुभयो । टेलिकमले त्यतिबेला निःशुल्क पाएका अवसर पनि गुमाएको उहाँले बताउनुभयो ।
कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले टेलिकमले देशको प्रमुख सेवाप्रदायकका रूपमा कनेक्टिभिटी उपलब्ध गराई टेलिहेल्थ, टेलिमेडिसिन र टेलिएजुकेसन जस्ता सेवाको विकासलाई ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले विशेष गरी दुर्गम क्षेत्रमा डिजिटल सेवा पुग्ने गरी आवश्यक ढाँचा तयार पार्न जरुरी भएको उल्लेख गर्नुभयो । यसले जनताको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने र मुलुकलाई डिजिटाइजेसन गर्ने अभियानलाई गति दिने बनाउनुपर्ने उहाँको भनाइ थियो ।
नेपाल टेलिकमका नायब प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले कम्पनीले अहिले सातै प्रदेशका ७७ जिल्लाका कुल ७४९ स्थानीय तहमा सो सेवाको पहुँच विस्तार गरेको जानकारी दिनुभयो । फाइभजी सेवा सुरुवात गर्नका निम्ति आपूर्तिकर्ताबाट प्राप्त भएको प्रस्तावको अध्ययन सम्पन्न भई मूल्याङ्कनको चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले डेटा सेन्टर निर्माणका लागि उपकरणको जडान सम्पन्न हुने चरणमा रहेको, नयाँ बिलिङ सिस्टमको पुनः बोलपत्रका लागि बोलपत्र कागजात पुनरवलोकन गर्न कमिटी गठन भई काम सुरु गरेको, प्राइभेट क्लाउड प्लेटफर्म सुरु भई नयाँ बोलपत्र आह्वानका निम्ति बोलपत्र कागजात परीक्षणका क्रममा रहेको जानकारी दिनुभयो ।