बबई समाचारदाता
बबई (बर्दिया), माघ २३ गते । बर्दियामा परम्परागत खेती किसानी गर्दै आइरहेका कृषक केही वर्षयता प्रविधिमैत्री बन्दै जान थालेका छन् । परम्परागत रूपमा खेती गर्दा समय र लागत बढ्दै जाने तथा उत्पादनसमेत कम हुन थालेपछि बर्दियाका कृषक अहिले प्रविधितर्फ आकर्षित हुन थालेका हुन् । कृषिमा प्रविधिको प्रयोग बढ्दै जाँदा उत्पादनसमेत बढ्दै गएको देखिन्छ भने लागतसमेत कम हुँदै गएको छ ।
बर्दियामा धान, गहुँ लगाउने र काट्नेसहित विभिन्न किसिमका मेसिन भित्रिएको भए पनि केही वर्षयता कृषकले हिउँदे मकै लगाउनसमेत सिट ड्रिल नामक मेसिनको प्रयोग सुरु गरेका छन् । बर्दियाका ग्रामीण भेगबाट समेत युवा रोजगारीका लागि विदेश पलायन हुन थालेपछि खेतबारीमा काम गर्न ज्यालामजदुरी पाउन समस्या भइरहेको समयमा अहिले प्रविधिको प्रयोगका कारण कृषकसमेत खुसी देखिएका छन् ।
प्रविधिको प्रयोग गरेर कृषि गर्दा लागतसमेत कम पर्ने भएका कारण कृषक प्रविधितर्फ आकर्षित हुँदै गएको पाइन्छ । कृषकको लागत र समयसमेत बचत हुने भएका कारण अहिले प्रविधिमैत्री खेतीतर्फ कृषक आकर्षित भएका हुन् । मधुवन नगरपालिका–९, तारातालका कृषक मीनप्रसाद पौडेलले विगतका वर्षभन्दा अहिले प्रविधिका कारण कृषि गर्न सजिलो बन्दै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “ज्यालामजदुरी र अन्य साधनबाट मकै छर्दा मकै नउम्रने समस्या धेरै हुने गरेको र ‘सिट ड्रिल’ को प्रयोगले मकै छर्दा नउम्रने समस्या भने हुँदैन ।” गुलरिया नगरपालिका–१, खैरापुरका मनोज यादवले हिजोआज धानदेखि मकै र आलुमा समेत प्रविधिको प्रयोग बढ्दै गएका कारण कृषकलाई समस्या नभएको बताउनुभयो ।
ज्यालामजदुरी लगाएर एक बिघामा हिउँदे मकै लगाउँदा तीन दिनसम्म लाग्छ तर मेसिनले त्यो काम एक घण्टामा सकिने भएकाले समय र लागतसमेत बचत भएको कृषकको भनाइ छ । गुलरिया नगरपालिका कृषि शाखाका शाखा प्रमुख महादेव शाहले प्रविधिको प्रयोग गर्दा कृषकलाई पैसा र समय दुवैको बचत हुने बताउनुभयो ।