• २३ माघ २०८२, शुक्रबार

साढे बहत्तर लाख मतपत्र छपाइ

निर्वाचन एकै चरणमा हुन्छ : प्रम

blog

प्रधानमन्त्री सुशीला कार्की भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइको अनुगमनका क्रममा निर्वाचनबारे सञ्चारकर्मीलाई जानकारी गराउनुहुँदै ।

गोरखापत्र समाचारदाता

भक्तपुर, माघ २३ गते । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधि सभा निर्वाचन एकै चरणमा सम्पन्न हुने बताउनुभएको छ । 

निर्वाचनको मतपत्र छपाइ गरिरहेको भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गरेपछि बिहीबार प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो । निर्वाचन एकै चरणमा सम्पन्न हुने विषयमा निश्चिन्त हुन अनुरोध गर्दै प्रधानमन्त्री कार्कीले भन्नुभयो, “अब चुनाव आयो, निश्चिन्त हुनूस् । एकै दिनमा हुन्छ चुनाव । कहीँ केही हुन्न । मलाई त लाग्छ, त्यो दिन सबै ठाउँमा मौसम पनि राम्रै हुन्छ । किनभने मैले अहिलेसम्म जे गरेको छु, राम्रो भइरहेको छ ।”

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइका लागि उत्साहजनक रूपमा काम गरिरहेको आफूले पाएको प्रधानमन्त्री कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको वातावरण देखेर उत्साह लाग्यो । हरेक प्रेसका कर्मचारी र हाकिमले राम्रोसँग काम गरिरहनुभएको छ । हामीलाई लाग्यो, अब निर्वाचन आयो । जनताले छाप लगाउन मात्रै बाँकी छ ।”

जनक शिक्षाका अनुसार बिहीबारसम्ममा प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रका लागि ७२ लाख ६० हजार मतपत्र छपाइ सकिएको छ । प्रत्यक्षतर्फका निर्वाचन क्षेत्रका लागि दुई करोड तीन लाख २३ हजार थान मतपत्र छपाइ गर्नुपर्ने आयोगले जनाएको छ । 

छापिएका मतपत्रमध्ये डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेलधुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी गरी जम्मा २५ जिल्लाको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनक शिक्षाले जनाएको छ । प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य माघ १६ गते सुरु भएको थियो । 

यसअघि जनक शिक्षामार्फत १० लाख ९८ हजार नमुना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लामा पठाइसकिएको छ । त्यस्तै समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ । 

मतपत्र छपाइको अवस्था बुझ्न प्रधानमन्त्री कार्कीसँगै जनक शिक्षा पुग्नुभएका गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनका लागि अहिलेसम्म सबै कुरा सकारात्मक रूपमै अघि बढेको बताउनुभयो । सातै प्रदेशमा सुरक्षा गोष्ठी भइसकेको र शान्तिसुरक्षा पनि सुदृढ भइसकेको अर्यालले बताउनुभयो । निर्वाचन वातावरण अनुगमन गर्न केही मन्त्री उपत्यकाबाहिर जानुभएको पनि सो अवसरमा अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनका लागि मौसमले पनि साथ देला कि जस्तो छ । केही ठाउँमा हिउँ प¥यो भने मात्रै समस्या आउने हो ।”

 अनुगमनका क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुने बताउनुभयो । निर्वाचन आचारसंहिताको अनुगमन विभिन्न तरिकाबाट भइरहेको जानकारी दिँदै भण्डारीले भन्नुभयो, “निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्दा समाचारभन्दा विचार सम्प्रेषण गरेर कुनै व्यक्ति, दल वा उम्मेदवारको पक्षमा वकालत नगरिदिन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । सत्यतथ्य पत्ता लगाएर मात्रै समाचार सम्प्रेषण गर्न अनुरोध गर्दै उहाँले निर्वाचनको वातावरण निर्माणमा सञ्चारकर्मीको सहयोग, सद्भाव र सहानुभूतिका लागि धन्यवाद दिनुभयो ।” मतपत्र छपाइको अनुगमन गर्न अन्य मन्त्री, निर्वाचन आयोगका आयुक्त, सचिवलगायतका पदाधिकारी पनि जानुभएको थियो ।