भवानीदत्त भट्ट
कञ्चनपुर, माघ २२ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरू घोषणापत्र विनै मत माग्न व्यस्त देखिनुभएको छ । तर मतदाताहरू भने विगतका घोषणापत्रमा समेटिएका बाँचा पूरा गर्न नसकेका भन्दै घोषणापत्रको खासै महत्त्व पनि नरहेको बताउन थालेका छन् ।
विगतका निर्वाचनमा उम्मेदवारहरूका घोषणापत्र देखेर विश्वास गर्न छोडेको भीमदत्त नगरपालिका २ का स्थानीय महेश भट्ले बताउनुभयो । “विगतका निर्वाचनमा त उम्मेदवारहरूले घोषणापत्र त सार्वजनिक गर्ने गरेकै थिए” उहाँले भन्नुभयो, “तर ती लागू भने गर्न सक्नुभएन ।”
विगतका वाचा समेत अधूरै रहेकाले अब झुटा आश्वासन नगर्न समेत उहाँले आग्रह गर्नुभयो । २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रबाट विजयी उम्मेदवाहरुले रोजगारी सिर्जना, सार्वजनिक प्रशासन सुधार र भ्रष्टाचारविरुद्ध कडा नीति बनाउने लगायतका प्रतिबद्धता गर्नुभएको थियो । तर यहाँका सरकारी कामकाजमा घण्टौं लाइन लागे पनि काम नहुने समस्या विद्यमान रहेको बेदकोट नगरपालिका–१० का स्थानीय प्रेमबहादुर महराले बताउनुभयो । सरकारी कामकाज गर्दाखेर नेतालाई खोज्नुपर्ने बाध्यतालाई हटाउन आगामी निर्वाचन विजयी हुने उम्मेदवारले स्पष्ट नीति निर्माण गरी जनताको पक्षमा काम गर्न उहाँले माग गर्नुभयो । तर आगामी निर्वाचनमा झुटा वाचा समेटेर घोषणापत्र सार्वजनिक नगर्न उम्मेदवारहरूलाई उहाँले सुझाव दिनुभयो ।
यसैगरी, अघिल्ला निर्वाचनमा उम्मेदवाहरुले भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुता नीति अपानाउने, प्रत्येक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, न्यायपालिका र प्रशासनमा सुधार गर्ने, विदेशमा रहेकालाई स्वदेश फर्कने अवसर र प्रतिशक्षण प्रदान गर्ने सहितका वाचा गर्नुभएको थियो ।
बेलौरी नगरपालिका–८ का स्थानीय हरिस रानाले मत माग्दै आउनुभएका उम्मेदवारहरूले भने घोषणापत्र नै सार्वजनिक नगर्दा आगामी निर्वाचनमा विजयी भए पनि केही सुधार हुनेमा विश्वस्त नभएको बताउनुभयो । अब घोषणापत्र सार्वजनिक गर्दा काम गर्न सक्ने खालको योजना मात्रै घोषणापत्रमा समेट्न उहाँले आग्रह गर्नुभयो ।
विगतका घोषणापत्रमा समेटिएका वाचाहरू समेत पूरा गर्न नसकेका उम्मेदवारहरूले आगामी निर्वाचनमा भने घोषणापत्र नै सार्वजनिक गर्न नसकेको कतिपय मतदाताहरूले टिप्पणी गर्न थालेका छन् । बेदकोट नगरपालिका–६ का स्थानीय दीपेन्द्र केशीले मतदातालाई झुटा आश्वासन दिएर मत नमाग्न उम्मेदवारहरूलाई आग्रह गर्नुभयो । अहिलेको पीढीले परिवर्तन चाहेकाले विगतका झैँ झुटा आश्वासन नदिलाउन समेत उहाँले आग्रह गर्नुभयो । उम्मेदवाहरुले घोषणापत्र सार्वजनिक नै गर्न नसकेका भन्दै उहाँले विगतका वाचा समेत अधूरै रहेकाले आगामी दिनमा भने पूरा गर्न सक्ने स्पष्ट कार्य योजना मात्रै घोषणापत्रमा समेट्न आग्रह गर्नुभयो ।
तीन निर्वाचन क्षेत्र रहेका कञ्चनपुरमा ११ स्वतन्त्रसहित ४४ दलीय उम्मेदवारहरू चुनावी मैदानमा होमिएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू मत माग्नका घरदैलो अभियानमा देखिन थलेका छन् । तर उम्मेदवारहरूले घोषणापत्र नै सार्वजनिक नगर्दा मतदाताहरूले पूरा गर्न सक्ने योजना मात्रै घोषणापत्रमा समेट्न सुझाव दिएका छन् ।