कपिल ज्ञवाली
सिद्धार्थनगर, माघ २० गते । विश्व सिमसार दिवसको अवसरमा लुम्बिनी विश्व शान्तिमञ्चले छात्रवृत्ति वितरण, वृक्षरोपण तथा सचेतना कार्यक्रम गरेको छ। मञ्चले रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित लुम्बिनी आधारभूत विद्यालयका १० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो ।
विद्यार्थीलाई जनही पाँच हजार रुपियाँ छात्रवृत्ति र विद्यालयलाई १० हजार गरी ६० हजार रुपियाँ प्रदान गरिएको मञ्चका संस्थापक तथा अध्यक्ष बासु गौतमले बताउनुभयो। त्यस्तै, सोमबार विद्यालय परिसरमा २५ वटा बढी र अन्य स्थानमा गरी २५० वटा बिरुवा रोपिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशका विभिन्न विद्यालयमा अक्षयकोष स्थापना गरिएको उहाँले बताउनुभयो । प्रत्येक वर्ष सिमसार दिवस र अन्य दिवसमा लुम्बिनी क्षेत्रका विद्यालयमा यस्तै किसिमको सहयोग गर्ने गौतमले बताउनुभयो ।
कार्यक्रममा राजकीय बौद्ध विहार, लुम्बिनीका प्रमुख सागर धम्मले जीवन निर्वाह गर्न पानी आवश्यक रहेकाले पानीका स्रोतको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पानी खेर नफाल्न आग्रह गर्दै सिमसार क्षेत्रको धेरै नै महत्त्व रहेको बताउनुभयो । सिमसार दिवसको अवसरमा विद्यालयमा कार्यक्रम आयोजना गरिनु प्रशंसनीय रहेको उहाँको भनाइ छ ।
त्यस्तै, भैरहवा नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा लुम्बिनी विश्व शान्तिमञ्चका आजीवन सदस्य अमितकुमार गुप्ताले मञ्चले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । लुम्बिनी होटल सङ्घ, नेपालका अध्यक्ष लीलामणि शर्माले तालतलैया, पोखरी तथा पानीका स्रोतहरूको संरक्षण आवश्यक रहेको बताउनुभयो ।
सन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले पर्यावरणलाई बचाउनु पर्छ र सिमसार क्षेत्रलाई संरक्षण गर्नुपर्छ भन्ने सन्देश यो कार्यक्रमले दिएको बताउनुभयो । उहाँले पर्यावरणलाई बचाउन वृक्ष रोपण आवश्यक रहेकोमा जोड दिनुभयो । लुम्बिनी विश्व शान्तिमञ्चसँग आगामी दिनमा पनि सहकार्य गर्दै जाने उहाँको भनाइ छ।
कार्यक्रममा पत्रकार रबिन्द्रप्रताप गुप्तालाई लुम्बिनी विश्व शान्तिमञ्चले सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट वातावरणीय सचेतनाको क्षेत्रमा योगदान गरेकाले सो योगदानको कदर गर्दै गुप्तालाई नगद १० हजार ५ रुपियाँसहित सम्मान–पत्रद्वारा सम्मान गरिएको मञ्चले जनाएको छ। त्यस्तै, सङ्गीतकार महेश ज्ञवाली र चित्रकला कलाकर्मी नरबहादुर विश्वकर्मालाई पनि सम्मान गरिएको मञ्चले जनाएको छ ।