विष्णुप्रसाद पोखरेल
दमक, माघ २० गते । सोमबार बेलुका झापाको गौरादहमा बेहुली लिएर फर्कँदै गरेको जन्ती बोकेको ट्याक्टर अनियन्त्रित भई पुलबाट खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना जन्ती घाइते भएका छन् । घाइतेहरूको दमकमा उपचार भइरहेको छ ।
गौरादह–४ भित्री सडकखण्डमा पर्ने रामचन्द्रे खोलाको पुलबाट ट्याक्टर खसेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गौरादहबाट स्कुलचौनतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ त ९७२० नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई पुलबाट खोलामा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
दुर्घटनामा मोरङ रतुवामाई–८ बस्ने ३८ वर्षीया स्वस्तिका मर्डीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । स्थानीयले उद्धार गरेर उपचारका लागि निम्स अस्पताल पुर्याएका थिए ।
प्रहरी प्रवक्ता खड्काका अनुसार घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।