• २० माघ २०८२, मङ्गलबार

देवघाटधाममा ‘शतचण्डी महायज्ञ एवम् माघ–महोत्सव’ सुरु

blog

अमरराज नहर्की
तनहुँ, माघ २० गते ।
पवित्र तीर्थस्थल देवघाटधाममा सोमबार देखि १० दिने ‘शतचण्डी महायज्ञ एवम् देवघाट माघ–महोत्सव’ भक्तिमय वातावरणमा सुरु भएको छ । दुर्गा पञ्चायन मन्दिरको जीर्णोद्धार र आश्रम निर्माण गर्ने  उद्देश्यका साथ आयोजित यस महोत्सवको समुद्घाटन देवघाटका विभिन्न प्रसिद्ध आश्रमका पीठाधीश तथा सन्त महन्तहरूले संयुक्त रूपमा गरेका हुन् ।

प्रसिद्ध भागवत वाचक आचार्य शीतल कृष्णको सङ्कल्पमा सुरु भएको यस अनुष्ठानमा महामण्डलेश्वर आत्मानन्द गिरीजी महाराज, ईश्वरकृष्ण महाराज लगायतका धार्मिक व्यक्तित्वहरूको सहभागिता रहेको छ ।

यो महोत्सव विशेषगरी माघ महिनाको धार्मिक महत्त्वलाई ध्यानमा राखेर आयोजना गरिएको हो। त्रिशूली र कालीगण्डकीको संगम स्थल आदिप्रयागमा माघ महिनाभर स्नान गर्नाले अश्वमेध यज्ञ बराबरको फल प्राप्त हुने र पुण्य आर्जन हुने जनविश्वास छ । यही अवसरमा देशका विभिन्न भागबाट आउने भक्तजनहरूलाई देवघाटधामको महिमा बुझाउन र मकर स्नानको लागि निमन्त्रणा गर्न यो कार्यक्रम प्रभावकारी माध्यम बनेको छ । महोत्सवको सुरुआतमा देवघाटको वेणी संगमबाट भव्य कलशयात्रा निकालिएको थियो, जसले स्थानीय क्षेत्रमा ठुलो उत्साह ल्याएको छ ।

महोत्सव अवधिभर तनहुँतर्फको मन्दिर परिसरमा १११ चण्डी पाठ र विगत ४० वर्षदेखि अखण्ड रूपमा प्रज्वलित अग्निधुनीमा हवन भइरहेको छ भने चितवनतर्फ नारायणी किनारमा देवी प्रतिभा र आचार्य शीतल कृष्णबाट संगीतमय कथा वाचन भइरहेको छ । हरेक साँझ भजन, नृत्य र गण्डकी आरतीले देवघाटको वातावरणलाई थप आध्यात्मिक बनाएको छ । माघ २९ गतेसम्म चल्ने यस धार्मिक महोत्सवमा लाखौँ श्रद्धालु भक्तजनहरूले सहभागिता जनाउने र यसले राष्ट्र शान्ति एवम् मानव कल्याणमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।