हाम्रो विद्यालयमा हरेक वर्ष पुसको अन्तिम सातादेखि माघको दोस्रो सातासम्म जाडो बिदा हुने गर्दछ । आफ्नो घर छोडेर काठमाडौँ आएर बसेका हामी जस्तालाई लामो समय बिदा भएपछि आफ्नै गाउँतिर घुम्न जाउँ जाउँ लागिहाल्छ ।
गत सालको जाडो बिदामा हाम्रो परिवार नै गाउँ जाने योजना बनेको थियो । जाडो बिदामा गाउँतिर नगएको पनि धेरै भएको थियो । मेरो गाउँ सर्लाहीको बरहथवा हो । हामी बिदा भएपछि रमाउँदै गाउँ गयौँ । म आफ्नो गाउँ घुम्न थालेँ । गाउँमा धेरै जाडो बढेको थियो । तराईमा त जाडो महिनामा राम्रोसँग घाम पनि लाग्दैन । गाउँतिर घुम्ने बेला एकदिन बाबाले गाउँको मन्दिर पनि लैजानुभएको थियो । म पूजा गर्न गएँ । मन्दिरको पेटीमा धेरै जना दुःखी र अपाङ्गता भएका मानिस थिए । यस्तो चिसो कठ्याङ्ग्रिने जाडोमा पनि उनीहरूले पातलो कपडा लगाइरहेका थिए । जाडोले कामी रहेका थिए ।
मलाई त अचम्म लाग्यो । अनि बाबालाई “यिनीहरूले पातलो लुगा लगाएर किन बसेका छन् ?” भनेर सोधेँ । बाबाले “उनीहरूले पैसा कमाउन सक्दैनन्, कसले दिने उनीहरूलाई न्यानो लुगा ?” भन्नुभयो । मलाई साह्रै नरमाइलो लाग्यो । अनि बाबालाई “हामी उनीहरूलाई न्यानो लुगा किनेर दिऊँ’ भनेँ,” बाबाले ‘हुन्छ’ भन्नुभयो । बाबा र म भएर उनीहरूलाई न्यानो लुगा किनेर दियौँ । उनीहरू खुसी भएर हामीलाई आशीर्वाद दिए । मलाई पनि त्यस्ता गरिब, अनाथ मानिसलाई सहयोग गर्न पाएकोमा धेरै खुसी लाग्यो । हामी धर्मका लागि पूजा गर्न भनेर मन्दिर त जान्छौँ तर वरिपरि रहेका दुःखी, गरिब मानिसलाई सहयोग गर्न पनि ठुलो धर्म हो भन्ने कुरा भुल्नु हुँदैन ।
हामीले धेरै रमाइलो ग¥यौँ । जाडो महिना भएकाले विभिन्न परिकार बनाएर खायौँ । माघेसङ्क्रान्ति पनि त्यहीँ मनायौँ । धेरै कुरा सिक्यौँ । यस वर्षको जाडो बिदामा मैले धादिङ घुम्न जाने विचार गरेकी छु । त्यहाँ हाम्रा आफन्तहरू हुनुहुन्छ । म आजसम्म धादिङ जान पाएकी छैन । म त्यहाँ गएर गाउँघरको खेतबारी र वातावरण हेर्ने छु । त्यहाँका खेतबारीमा लगाउने बालीका बारेमा जानकारी लिने छु । त्यहाँका धार्मिक स्थल, मानिसले मनाउने चाडपर्व, चालचलन सबै कुराको अध्ययन गरी जानकारी लिने छु । केही दुःखी मानिसलाई पनि सहयोग गर्ने छु । धादिङको यात्रा यादगार बनाएर फर्किने छु ।