दाङ समाचारदाता
दाङ, माघ १९ गते । आगामी प्रतिनिधि सभा निर्वाचनमा दाङ जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा पुराना, नयाँ दल तथा स्वतन्त्र गरी ६० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । तीमध्ये ५५ जना पुरुष र पाँच जना महिला उम्मेदवार रहेका छन् ।
उम्मेदवारको सङ्ख्यात्मक उपस्थितिले प्रतिस्पर्धा तीव्र देखिए पनि महिला सहभागिता भने अपेक्षाकृत कमजोर देखिएको छ । समग्र दाङमा पुरुष उम्मेदवारको बर्चस्व कायम रहँदा महिला उम्मेदवारको सङ्ख्या न्यून रहेको छ । पुरुष उम्मेदवार ९१.१७ प्रतिशत छ भने महिलाको ८.३३ प्रतिशत मात्र रहेको छ ।
दाङ जिल्लामा महिला र पुरुष मतदाताको सङ्ख्या लगभग बराबरी अवस्थामा छ । कुल चार लाख ३१ हजार ६८६ मतदातामध्ये दुई लाख १८ हजार ३०३ जना महिला रहेका छन् । जुन ५०.५७ प्रतिशत हो । त्यसै गरी दुई लाख १३ हजार ३८० जना पुरुष मतदाता छन् भने अन्य समूहमा तीन जना मतदाता रहेका छन् ।
जिल्लाका तीन निर्वाचन क्षेत्रमध्ये दाङ निर्वाचन क्षेत्र नं. १ मा महिला उम्मेदवार शून्य छन् । यस क्षेत्रमा १४ जना उम्मेदवार रहे पनि एक जना पनि महिला उम्मेदवार छैनन् । यस तथ्यले राजनीतिक दल तथा समग्र निर्वाचन प्रक्रियामा महिला सहभागिताको अवस्था कमजोर रहेको स्पष्ट सङ्केत गर्छ । संविधानले समावेशी प्रतिनिधित्वको व्यवस्था गरे पनि प्रत्यक्ष निर्वाचनमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको देखिन्छ ।
दाङ निर्वाचन क्षेत्र नं. २ मा भने केही आशा देखिएको छ । यहाँ २१ जना उम्मेदवारमध्ये दुई जना महिला स्वतन्त्र उम्मेदवार रहेका छन् । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल, नेपाली कांग्रेसका नेता किरणकिशोर घिमिरे, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य निर्मल आचार्य र राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन आचार्यसहित १९ जना पुरुष उम्मेदवारको प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार विष्णुकुमारी भुसाल र कल्पना लामा चुनावी मैदानमा हुनुहुन्छ । यो क्षेत्रमा महिला उम्मेदवारको उपस्थिति सीमित भए पनि उहाँहरूको उम्मेदवारीले राजनीतिक बहसमा महिला आवाज थपिएको छ ।
दाङ निर्वाचन क्षेत्र नं. ३ मा तुलनात्मक रूपमा महिला सहभागिता केही बढी देखिन्छ । यस क्षेत्रमा तीन जना महिलासहित २५ जना उम्मेदवार चुनावी मैदानमा छन् । कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डेय र नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य धनबहादुर मास्कीसहित २२ जना पुरुष उम्मेदवार रहेका छन् ।
समग्रमा दाङको निर्वाचन परिदृश्यले राजनीतिक प्रतिस्पर्धा व्यापक देखाए पनि लैङ्गिक सन्तुलनको सवालमा अझै सुधार आवश्यक रहेको देखिन्छ । महिला उम्मेदवारी सङ्ख्या न्यून रहनुले राजनीतिक दलहरूको उम्मेदवार चयन प्रक्रियामा समावेशितामाथि पुनः गम्भीर समीक्षा आवश्यक रहेको देखिन्छ ।