• १९ माघ २०८२, सोमबार

नारायणी नदीमा नेपालकै पहिलो क्रुज सञ्चालनमा

blog

नवलपुरको गैँडाकोटस्थित नारायणी नदीबाट सञ्चालनमा ल्याइएको नेपालकै पहिलो ‘राइनो क्रुज’ । तस्बिर : बोमलाल गिरी

बोमलाल गिरी
नवलपुर, माघ १९ गते ।
नवलपुरको गैँडाकोटस्थित नारायणी नदीबाट ५० करोड रुपियाँको लगानीमा नेपालकै पहिलो ‘राइनो क्रुज’ सञ्चालनमा ल्याइएको छ । नवलपुर र यहाँको पर्यटकीय क्षेत्रमा दिगो र सम्भावनायुक्त नयाँ गन्तव्य बनाउने योजनासहित आइतबार साँझदेखि राइनो क्रुज सञ्चालनमा ल्याइएको हो ।

राइनो वाटर इन्टरटेनमेन्ट प्रालि र होटल रिभर क्राउन प्रालिले संयुक्त रूपमा नरायणी नदीमा राइनो क्रुज सञ्चालनमा ल्याएका हुन् । गैंडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले क्रुज उद्घाटन गर्दै यो आफ्नो पालिकाको नमुना गहना भएको भन्दै यसको सञ्चालनमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

अहिले गैँडाकोटको पुलचोकदेखि देवघाटसम्म सञ्चालन हुनेछ । यसले यहाँको पर्यटन प्रवर्धनमा ठुलो टेवा दिने भन्दै अधिकारीले क्रुजलाई देवघाटधामसम्म मात्रै नभई देवघाटधामदेखि त्रिवेणीधामसम्म जोड्नुपर्ने बताउनुभयो । क्रुज सञ्चालनका लागि नारायणीको धेरै ठाउँमा अवरोध भएको भन्दै उहाँले बाधा अड्चन हटाएर नदीलाई गहिरो बनाउन आवश्यक पर्ने सहयोगसमेत पालिकाले गर्ने बताउनुभयो ।

साढे दुईतले क्रुजको लम्बाई ९५ फिट र चौडाइ २१ फिट रहेको रिभर क्राउन प्रालिका प्रवन्ध निर्देशक दीपक ढुंगेलले जानकारी दिनुभयो । क्रुजको पूरा क्षमता दुई सय जनासम्म भएपनि एक सय ५० जनालाई सुविधा उपलब्ध गराउने गरी सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ ।  क्रुजको यात्रा पूर्णरुपमा सुरक्षित रहेको भन्दै ढुंगेलले यो यातायातका लागि नभई रमाइलो जलयात्राका लागि सञ्चालनमा ल्याइएको बताउनुभयो ।

सामान्यता क्रुजिङको समय बढीमा १ घण्टाको भए पनि कार्यक्रम तथा प्याकेजअनुसार थपघट गर्न सकिने बताइएको छ । क्रुजिङका लागि साधारण टिकट पाँच सय रुपियाँ तोकिएको छ भने ब्रेकफास्ट क्रुजिङको एक हजार पाँच सय, लन्च क्रुजिङको दुई हजार तथा डिनर क्रुजिङको तीन हजार एवम् अन्य कार्यक्रमको प्याकेजअनुसार शुल्क निर्धारण गरिएको जानकारी उहाँले दिनुभयो ।

राइनो क्रुज सञ्चालनपछि सम्भाव्यता अध्ययन गर्दै थप दुईवटा ‘मिनी क्रुज’ पनि सञ्चालन गर्ने तयारी रहेको बताइएको छ । क्रुजले प्रतियात्रु १० लाख रुपियाँ बराबरको बिमा गराएको पनि ढुंगेलले बताउनुभयो । वर्षभरि सञ्चालन गर्ने योजनासहित सञ्चालनमा ल्याइएको क्रुजले ठुलो हावा तथा पानीको वहावमा पनि यात्रा गर्न सक्ने क्षमता रहेको ढुंगेलले बताउनुभयो ।