बैतडी समाचारदाता
बैतडी, माघ १९ गते । रुकुमपश्चिमका मतदाता कामको खोजीमा बैतडीको झुलाघाट आइपुगेका छन् । झुलाघाटमा सडक निर्माणको काम पाएपछि उनीहरू फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा मतदान गर्न जान नसक्ने बताएका छन् ।
रुकुमपश्चिमबाट काम खोज्न २२ जनाको टोलीमा बैतडी आइपुगेका यसपाल विकले परिवार पाल्न काम गर्नुपर्ने बाध्यता भएकाले निर्वाचनमा मतदान गर्न जान नसक्ने बताउनुभयो । पटक पटक भोट दिए पनि अहिलेसम्म गरिब मजदुरको जीवनमा कुनै परिवर्तन नआएकाले मतदान गर्ने इच्छा नभएको उहाँले बताउनुभयो ।
देश परिवर्तन गर्ने भन्दै तत्कालीन माओवादीले सशस्त्र विद्रोह सुरु गरेको आधार क्षेत्रका रूपमा रहेको रुकुममा आशा गरे अनुसारको परिवर्तन नभएको मजदुरको गुनासो छ । गएको एक महिनादेखि सडकमा ढुङ्गा फोर्दै आएका अर्का ६२ वर्षीय मजदुर रतन विकले मजदुरीको काम सकेर नयाँ वर्षमा घर फर्किने बताउनुभयो । रुकुममा रोजगारी नहुँदा काम खोज्दै बैतडीको झुलाघाटदेखि भारतको पिथौरागढसम्म गाउँका अन्य युवासमेत आएको उहाँले बताउनुभयो ।
झुलाघाटमा सडक डिभिजन कार्यालय बैतडीले एक किलोमिटर क्षेत्रमा सडक चौडा गरेर ढुङ्गा बिछ्याएर सडक ढलानको काम सुरु गरेको छ । माघको चिसो छल्दै घन र सब्बलले ढुङ्गा फुटाउने काममा रुकुम पश्चिमका मजदुर खटिएका छन् ।
नेपाल–भारतको सीमानाका झुलाघाट र भारतको पिथौरागढमा सुदूरपश्चिम र कर्णालीका युवा ज्याला मजदुरी गर्दै अएका छन् । गएको पुसदेखि माघ दोस्रो हप्तासम्म झुलाघाट सीमानाका भएर तीन हजारभन्दा नेपाली भारत पसेको नेपाल प्रहरीको झुलाघाट सीमा चौकीको तथ्याङ्क छ । झुलाघाटपारि भारतीय बजार भारी बोक्ने, सडक मर्मत र खेतबारीमा मौसमी रोजगारी पाइने गरेको छ । नेपालतर्फका सडकमा डोजरलगायतका मेसिन उपकरणद्वारा काम गरिने भए पनि भारतमा भने मानवीय जनशक्ति प्रयोग गरेर ग्रामीण सडक निर्माणको काम हुँदै आएको भारतीय सञ्चारकर्मी सुरेन्द्र आर्यले बताउनुभयो । भारतका ग्रामीण सडकमा अधिकांश नेपाली मजदुर काम गर्दै आएको उहाँले जानकारी दिनुभयो ।