राजन रावत
हुम्ला, माघ १९ गते। नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमालपारिको गाउँ लिमीका तीनै गाउँका स्थानीय मतदाताले आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति सार्न माग गरेका छन् ।
जाङ गाउँका सबै मतदाता काठमाडौँमा रहेका र अन्य दुई गाउँका अधिकांश मतदाता पनि गाउँबाहिर रहेकाले हिमपातका कारण मतदानमा सहभागी हुन नसकिने अवस्था सिर्जना भएको भन्दै उनीहरूले निर्वाचनको मिति सार्न माग गरेका हुन् ।
लिमीका वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार लिमी जाने नाम्खा गाउँपालिका–५ स्थित ४ हजार ६७० मिटर उचाइको नारा लेक र ५ हजार मिटर उचाइको न्यालु नाका क्षेत्रमा बाक्लो हिमपात जमेकाले हाल आवतजावत पूर्ण रूपमा बन्द भएको छ । अझै पनि हिमपात पर्ने समय बाँकी रहेकाले फागुन २१ गतेअगाडि लिमी पुग्न सम्भव नरहेको उहाँले बताउनुभयो ।
लिमीमा स्थानीयहरूबिच बसेको अनौपचारिक बैठकले निर्वाचन आयोगसमक्ष निर्वाचनको मिति केही दिन पछाडि सार्न माग गर्ने सहमति गरेको वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार जाङ गाउँको मतदान केन्द्रमा हाल एक जना पनि मतदाता नरहेका छन् भने अन्य दुई गाउँमा पनि थोरै मतदाता मात्र उपस्थित छन् । यस्तो अवस्थामा फागुन २१ गते निर्वाचन सम्पन्न गर्न कठिन हुने भएकाले मिति सार्न वा अन्य वैकल्पिक व्यवस्था गर्न लिमीवासीको साझा माग रहेको उहाँले बताउनुभयो ।
लिमीका तीन मतदान केन्द्रमध्ये भृकुटी प्राथमिक विद्यालय मतदान केन्द्रमा २४७ जना, हिमशिखर प्राथमिक विद्यालय (तील) मतदान केन्द्रमा १३२ जना र सुनखनी प्राथमिक विद्यालय, हल्जी मतदान केन्द्रमा २९३ जना मतदाता रहेका छन् । तीनै मतदान केन्द्र गरी जम्मा ६७२ जना मतदाता रहेका भए पनि हाल गाउँमा करिब २० दशमलव ८८ प्रतिशत मतदाता मात्र उपस्थित रहने अनुमान गरिएको छ ।
नाम्खा गाउँपालिकाका अन्य क्षेत्र पनि हिमपातबाट प्रभावित भए पनि लिमी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बताउनुभयो। यस समस्याबारे निर्वाचन आयोगलाई जानकारी गराइसकिएको र आयोगबाट आउने निर्णय कार्यान्वयन गर्न आफूहरू तयार रहेको उहाँले जानकारी दिनुभयो ।