टोपलाल अर्याल
रेसुंगा(गुल्मी), माघ १९ गते । यही माघ २४ देखि फागुन २ गतेसम्म करिव २५ सय किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप प्रदान गरिने भएको छ । खोप अभियानको तयारी अन्तिम चरणमा पुगेको छ ।
स्वास्थ्य कार्यालय गुल्मीका अनुसार जिल्लाका दुई हजार ४६५ किशोरीका लागि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एच.पि.भि.) प्रदान गरिनेछ । यो खोप विद्यालय नजाने किशोरीका हकमा १० वर्ष उमेर समूहकाले पाउने छन् । गतवर्ष छुटेका मध्ये कक्षा ७ देखि १० सम्म अध्ययनरत किशोरी र विद्यालय नजाने किशोरी ११ देखि १४ वर्षसम्मका किशोरीलाई पनि खोप दिइने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक ताराबहादुर कार्कीले जानकारी दिनुभयो ।
यो खोप गतवर्ष अभियानका रुपमा लगाएपनि यसवर्षदेखि नियमित लगाइनेछ । आगामी वर्षमा फागुन महिनामा यो खोप नियमित खोपअन्तर्गत प्रदान गरिने काकीले बताउनुभयो । यो खोप सबै विद्यालयमा प्रदान गरिने र छुटफुट भएकालाई नजिकको स्वास्थ संस्थामार्फत प्रदान गरिने स्वास्थ्य कार्यालयको तयारी छ ।
जिल्ला समन्वय समिति गुल्मीका प्रमुख तथा जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक द्रोणबहादुर खत्रीले लक्षित समूहलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो माध्यमबाट सूचना प्रबाह गरेर खोपको पहुँच स्थापित गर्न गर्न आग्रह गर्नुभयो । प्रति खोप नौ हजार रुपियाँभन्दा बढी राज्यको रकम खर्च हुने भएकोले सबै सचेत भएर खोप लक्षित समूहसम्म जाने वातावरण बनाउनुपर्नेमा खत्रीले जोड दिनुभयो ।
जिल्ला स्तरीय खोप समन्वय समिति वैठक । तस्बिर : टोपलाल अर्याल