सुधा देव
भारदह(सप्तरी), माघ १९ गते । नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सप्तरी क्षेत्र नं ४ का उम्मेदवार तेजुलाल चौधरीले मुलुक स सङ्कटग्रस्त अवस्थामा भएकाले देशलाई निकास दिन कांग्रेसको आवश्यकता रहेको बताउनुभएको छ ।
आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी कांग्रेस बोदेबरसाईन नगरपालिकाको नगरस्तरीय कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
नेपालको इतिहासमै सङ्कट आएको बेला त्यसको समाधान गर्ने पार्टीको रूपमा नेपाली कांग्रेस उभिदै आएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘जेनजीको माग, मुद्दा र चाहना अनुसार नेपाली कांग्रेस बदलिएकाले अब देश बदल्ने जिम्मा कांग्रेसको हो । केही दिन अघि मात्र कांग्रेसको सम्पन्न भएको महाधिवेशनले युवालाई नेतृत्व दिएर नयाँ सुरूवात गरेको छ ।’’
कार्यक्रममा जसपा र एमाले पार्टी परित्याग गरी करिब तीन दर्जन नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई पूर्वमन्त्री चौधरी र नगर सभापति इन्जिनियर दिपेन्द्र यादवले पार्टीमा स्वागत गरेका गर्नुभएको थियोे ।
कार्यक्रममा आफ्नो कार्यकालमा यस क्षेत्रमा सडक पूर्वाधारतर्फ कल्याणपुर गाईघाट सडक, कल्याणपुर फुलबारीया बनौली सडक, कदमहा प्रमाणपुर, पटेर्वा सडक तथा कुसहा बेल्ही सडक निर्माणका लागि रकम विनियोजन भई केही सडक निर्माण कार्य अन्तिम चरणमा रेहेको कुसहा बेल्ही सडकको काम तीव्र रूपमा भइरहेको उहाँले कार्यक्रममा सहभागी स्थानीयहरूलाई जानकारी समेत दिनुभयो ।