धनगढी समाचारदाता
धनगढी, माघ १९ गते । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीमा रहेका निर्वाचन कार्यालय जनशक्ति व्यवस्थापनको तयारीमा जुटेका छन् । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले निर्वाचनका लागि अन्य व्यवस्थापनका साथै जनशक्ति व्यवस्थापनको काम पनि आफूहरूले अगाडि बढाएको बताउनुभयो ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचन सम्पन्न गर्नका लागि प्रदेशभरि १५ हजार ३९३ जनशक्ति खटाइने छ । कैलालीको निर्वाचन क्षेत्र नम्बर १ मा ८८२, क्षेत्र नं. २ मा ८६८, क्षेत्र नं. ३ मा ८८९, क्षेत्र नं. ४ मा ९५२ र क्षेत्र नं. ५ मा ८९६ जना कर्मचारी आवश्यक पर्ने जनाइएको छ । यस्तै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा ८५४, क्षेत्र नं. २ मा ८६१ र क्षेत्र नं. ३ मा ८०५ अछामको क्षेत्र नं. १ मा ७३५, क्षेत्र नं. २ मा ७५६ जना कर्मचारी आवश्यक पर्ने भट्टले जानकारी दिनुभयो । यसै गरी डोटीमा एक हजार २६०, बाजुरामा ८२६, बझाङमा एक हजार ३२३, बैतडीमा एक हजार ४९८, दार्चुलामा एक हजार एक र डडेलधुरामा ९८७ जनशक्ति आवश्यक पर्ने जनाइएको छ । निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना छनोट कार्य पूरा भइसकेको छ ।
निर्वाचन प्रहरीको तालिम पनि सुरु गरिएको छ । निकट भविष्यमै मतदाता शिक्षा कार्यक्रम पनि अगाडि बढाउने उहाँले बताउनुभयो । मतदान स्थल व्यवस्थापन र मतदान केन्द्रको तयारी भने पछि हुुने जनाइएको छ । सुदूरपश्चिम प्रदेशभरि एक हजार १७६ मतदान स्थल र दुई हजार १९९ मतदान केन्द्र रहेका छन् । कैलालीमा २३७ मतदान स्थल र ६४१ मतदान केन्द्र निर्धारण गरिएको छ । कञ्चनपुरमा १२२ मतदान स्थल र ३६० वटा मतदान केन्द्र रहेका छन् ।
यस्तै अछाममा १३० मतदान स्थल र २१३ मतदान केन्द्र निर्धारण गरिएको छ । यसै गरी डोटीमा ११८ मतदान स्थल र १८० मतदान केन्द्र, बाजुरामा ७७ मतदान स्थल र ११८ मतदान केन्द्र, बझाङमा १३७ मतदान स्थल र १८९ मतदान केन्द्र निर्धारण गरिएको छ । बैतडीमा १२९ मतदान स्थल र २१४ मतदान केन्द्र, दार्चुलामा ११२ मतदान स्थल र १४३ मतदान केन्द्र र डडेलधुरामा १०४ मतदान स्थल तथा १४१ मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
सुदूरपश्चिम प्रदेशभरि आठ लाख ५२ हजार २१९ पुरुष र आठ लाख ६४ हजार ४२३ महिला गरी कुल १७ लाख १६ हजार ६६० मतदाता रहेका छन् ।