• १९ माघ २०८२, सोमबार

प्राकृतिक सन्तुलनमा सिमसार

blog

सर्वप्रथम सन् १९७१ मा क्यास्पियन सागरको किनारमा अवस्थित इरानको रामसार सहरमा सिमसारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । यस सम्मेलनमा सहभागी १७२ वटा राष्ट्रले आआफ्नो देशमा भएका सिमसार क्षेत्रको पहिचान गर्दै संरक्षणका लागि प्रभावकारी नीतिको कार्यावन्यन गर्ने, परम्परागत ज्ञानको आदानप्रदान गर्दै कम्तीमा एक अन्तर्राष्ट्रिय महìवको सिमसार क्षेत्रको पहिचान गर्ने प्रतिबद्धता जनाएका थिए । यो सम्मेलनले निकालेका निचोडलाई मान्यता दिँदै संयुक्त राष्ट्रसङ्घको साधारण सभाले ३० अगस्त २०२१ मा फेब्रुअरी २ तारिखलाई विश्व सिमसार दिवसको रूपमा घोषणा गरेको हो ।

आज फेब्रअरी २ तारिख, विश्वभर यो दिवस मनाइँदै छ । यस वर्षको विश्व सिमसार दिवसको नारा ‘परम्परागत ज्ञान र सिमसार क्षेत्रहरू : सांस्कृतिक सम्पदाहरूको उत्सव मनाऔँ’ भन्ने रहेको छ, जसले सिमसार र सदियौँ पुराना परम्परगत ज्ञानको महत्वलाई जोड दिएको छ । यस्ता दिवसले हाम्रो मानव समुदायमा रहेका परम्परागत ज्ञान र सिमसार क्षेत्रसँगको सामीप्यता, आत्मनिर्भरता तथा सांस्कृतिक सम्पदाको पहिचानका साथै सिमसार क्षेत्रको पारिस्थितिक प्रणाली (इकोसिस्टम) विकासलाई दिगो बनाउने कुरामा जनचेतना बढाउँछ ।

सिमसार भनेको प्राकृतिक वा मानव निर्मित जलाशय, दलदल, सीम, ताल, पोखरी, नदी तथा कुण्ड हुन्, जो निरन्तर रूपमा वा समय समयमा जल भरिएर बनेका भौगोलिक क्षेत्र हुन् । समय क्रममा पानीले भिज्दै गर्दा एक प्रकारको पारिस्थितिकीय प्रणालीको विकास भएको हुन्छ, जसले गर्दा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विभिन्न किसिमका जनावर, पन्छी, जलचर, उभयचरलगायत प्राणीका साथै वनस्पतिलाई हुर्कन र फैलिन सहयोग पु¥याइरहेको हुन्छ । यसले वातावरण संरक्षणमा महत्वपूर्ण सहयोग पु¥याइरहेका हुन्छन्, वातावरणलाई सन्तुलित गराउँछ । यसको सकरात्मक असर मानव सभ्यतामा पर्न जान्छ । यस्ता क्षेत्रले माटोको उर्वराशक्ति कायम राख्ने, माटोमा भएका ब्याक्टेरियाको रक्षा, परागसेचन गरिदिने, हानिकारक किरा खाइदिने, पानीका मुहान रिचार्ज गरिदिने, प्राकृतिक प्रकोप हुनबाट बचाउने, कार्बन शोषण गरेर वातावरणलाई स्वच्छ बनाउने काम गरिरहेका हुन्छन् । 

सिमसार क्षेत्रले पृथ्वीको भूसतहको छ प्रतिशत भूभाग ओगटेको अनुमान गरिएको छ, जसमा ४० प्रतिशत वनस्पति र प्राणी जगत्को अस्तित्व जोडिएको छ । ती वनस्पति र प्राणीले सिमसार क्षेत्रमा नै प्रजनन प्रक्रिया बढाउने हुनाले जैविक विविधता यथावत् राखिरहन ठुलो सहयोग पुगेको हुन्छ । जैविक विविधताले मानव स्वास्थ्य र खाद्य सुरक्षामा पहुँच पु¥याइरहेको हुन्छ, जसले जनताको जीवनस्तर उकास्न पनि मद्दत पु¥याइरहेको हुन्छ । यसले प्रकृतिसँगको सहअस्तित्वमा रहेर मानव सभ्यता र समाजलाई ठुलो गुण लगाइरहेको हुन्छ । वायु प्रदूषणमा सघाउने ग्यासहरूलाई सोसेर वातावरण स्वच्छ राख्न मद्दत गर्छ । यिनै कारणले सिमसार क्षेत्रलाई ‘पृथ्वीको मिर्गौला’ पनि भनिन्छ । 

हालका दिनमा विश्वभरि रहेका सिमसारको लोप हुने क्रम वनजङ्गल लोप हुने क्रमभन्दा तीनगुणा बढी भएको तथ्यले देखाएका छन् । सन् १९७० यताका पचास वर्षको आकडालाई हेर्दा विश्वका ३५ प्रतिशत सिमसार क्षेत्र लोप भएका छन् । सिमसारको लोप हुने क्रम यसरी जारी रहेमा प्राणी जगत्मा समस्या उत्पन्न भई मानव सभ्यतामा नै चुनौती थपिन सक्छ ।

अहिलेको विश्वजगत्ले जलवायु परिवर्तनसँगै जैविक विविधता ह्रास र वायु तथा ध्वनि प्रदूषणको जटिलतालाई एकैसाथ सामना गरिरहेको छ, जसलाई सयुक्त राष्ट्रसङ्घले तीन महाविपत् भनेको छ । यी तीन महासङ्कटले विश्वको अर्थतन्त्र, मानवीय प्रगति तथा जनस्वास्थ्यलाई नकरात्मक असर मात्र होइन, सम्पूर्ण मानव प्रजातिको अस्तित्वमाथि नै समस्या खडा गरिरहेको छ । विकासको क्रममा पृथ्वीमा भएका प्राकृतिक सम्पदाको अत्यधिक दोहन तथा अत्यधिक मात्रमा कार्बन उत्सर्जनका कारण ओजोन तहमा प्वाल पर्न गई सूर्यका हानिकारक विकिरण तथा हरितगृह ग्यासको कारण पृथ्वीको तापमान बढ्न गई हिमशृङ्खला पग्लने, पानीका मुहान सुक्ने, जैविक विविधता विनाश, अतिवृष्टि, अनावृष्टि, खडेरी, जमिनको मरुभूमीकरण जस्ता समस्या निम्तिन सक्छ जलवायु परिवर्तन र जैविक विविधता ह्रास न्यूनीकरण गर्न विश्वका सरकारबिच तीस वर्षअधि नै दुई महासन्धि भएका थिए । सन् १९९२ मा ब्राजिलको ‘रियो दी’ जेनेरियोमा भएको पृथ्वी सम्मेलनका दुई उपलब्धिमध्ये एउटा विश्व जलवायु महासन्धिका पक्ष राष्ट्रको सम्मेलन हुन् भने अर्को जैविक विविधता महासन्धिका पक्ष राष्ट्रको सम्मेलन हुन् । यी सम्मेलनले लामो समय पार गरिसक्दा पनि लक्ष्य अनुरूप खासै उपलब्घि हासिल गर्न सकेका छैनन् । जलवायु परिवर्तनको विश्व राजनीतिमा जस्तै जैविक विविधता ह्रासको मुद्दामा पनि विश्वका धनी र गरिब राष्ट्र दुई ध्रुवमा बाँडिएका कारण आशातीत परिणाम निस्किन सकेको छैन । जैविक विविधता ह्रासको अनुपात गरिब देशमा धेरै छ भने धनी देशको विलासी जीवनशैली यसको कारक बन्न गएको देखिन्छ । 

वैज्ञानिक तथ्यले के भन्छ भने पारिस्थितिकीय प्रणालीमा एउटा प्रजाति नहुँदा त्यसको असर अरू धेरै प्रजातिमा नकरात्मक असर पर्न जान्छ । प्रकृतिले सिर्जना गरेका हरेक प्रजातिको सहअस्तित्वको महत्व उत्तिकै हुन्छ । त्यसैले जैविक विविधता जोगाउनु भनेकै विश्वको आर्थिक अवस्थालाई राम्रो बनाउनु मात्र होइन, मानव जगत्को अस्तित्व रक्षाका साथै भविष्यमा आइपर्ने सङ्कटसँग सामना गर्न सक्षम हुनु पनि हो । स्वस्थ सिमसार क्षेत्र दिगो विकासका लक्ष्य प्राप्तिका लागि पनि अति आवश्यक हुन्छन् । 

विश्वमा २४०० सिमसार क्षेत्र रामसार क्षेत्रमा दर्ता भएका छन्, जसले २५ लाख वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । नेपालमा यस्ता सिमसार क्षेत्र धेरै छन्, जसलाई उच्च हिमाली क्षोत्रका, मध्यपहाडी क्षेत्रका तथा तराई क्षोत्रका सिमसार गरी वर्गीकरण गरिएको छ । नेपालका १० वटा सिमसार क्षेत्रलाई रामसार क्षेत्रमा दर्ता गरिएको छ, जसको क्षेत्रफल ६०,५६१ हेक्टर रहेको छ । ती हुन् से फोक्सन्डो राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, कोशीटपु वन्यजन्तु आरक्ष, जगदीशपुर ताल, पोखराका ताल, माइपोखरी, बीसहजारी ताल र आसपासका ताल, गोसार्इंकुण्ड, घोडाघोडी ताल क्षेत्र तथा गोक्यो सिमसारका लहर हन् । यी सिमसार क्षेत्रले देशभरिका सिमसार क्षेत्रको प्रतिनिधित्व गरेका छन् । 

बसाइ सरिआउने चराचुरुङ्गीका लागि तथा तीव्र गतिमा लोपोन्मुख वनस्पतिजन्य प्रजातिका लागि बासस्थानको रूपमा काम गरेका यी क्षेत्रले पर्यटन र मनोरञ्जनका लागि पनि अवसर दिइरहेका छन् । नेपाललाई विश्वमा परिचय गराउने अहिलेको कुनै चिज छ भने त्यो जैविक विविधता नै हो । हाम्रो देशको पर्यटनको आधार भनेको निकुन्ज, संरक्षित क्षेत्र, सिमसार, वन तथा वातावरण, हिमाली शृङ्खला, तालतलैया, नदी तथा जैविक विविधतामा आधारित धार्मिक तथा सांस्कृतिक विविधता हुन् । धार्मिक तथा सांस्कृतिक मान्यताका आधारमा सदियौँदेखि वातावरण संरक्षण गर्दै आएको हाम्रो समाजले पृथ्वीलाई माता मान्ने, वर–पीपल–समी रोपेर चौतारो बनाउने, जनावर, जलचर तथा उभयचरलाई पूजा गर्ने, नदी तथा तालमा भगवान्को बास हुन्छ भनी संरक्षण गर्ने गरेको छ । 

प्रकृतिको नियमानुसार यस पृथ्वीमा भएका सबै जैविक तथा अजैविक अवयव सन्तुलनमा रहनु पर्छ । अनि मात्र हाम्रो पारिस्थितिकीय प्रणाली सन्तुलनमा रहन्छ । जीवन सुन्दर र स्वस्थ बन्छ । ठुला भौतिक पूर्वाधार निर्माण गर्दा त्यसले प्राकृतिक सम्पदामा पार्ने वातावरणीय प्रभावलाई ध्यानमा राखेर मात्र गर्नुपर्ने हुन्छ । कार्बन विनिमयको वस्तु बनिसकेको आजको परिवेशमा प्रकृतिको ख्याल नराखी जथाभाबी गर्ने, सामाजिक भलो नसोची व्यक्तिगत स्वार्थका लागि प्राकृतिक सम्पदा दोहन गर्ने प्रवृत्तिलाई निर्मूल गर्नुपर्ने हुने छ । सिमसारको महìवबारे जनजनमा प्रचारप्रसार गरी जनचेतना बढाउँदै दिगो संरक्षणमा लाग्नुपर्ने आवश्यकता छ । विश्वका लागि सोचौँ, जहाँ छौँ त्यहीँबाट वातावरण संरक्षणका काम सुरु गरौँ । यसैमा हाम्रो व्यक्तिगत जीवन सफल हुने छ र यस पृथ्वीमा रहेका सबै प्राणीको पनि भलो हुने छ । विश्व सिमसार दिवस मनाएको सार्थकता पनि रहन्छ ।