• २ असार २०८१, आइतबार

बाँदर धपाउने नयाँ प्रविधि सिक्दै किसान

blog

इलाम, असार ३२ गते । दिनभरि खेतमा पाकेको मकै रुँग्दा थकित भएका इलामका किसान बाँदर धपाउने उपकरण निर्माण गरेर प्रयोगमा ल्याउन थालेका छन् । इलाम नगरपालिका–५ मा बाँदर धपाउन नयाँ प्रविधि सफल भएपछि अन्य वडाका किसानले पनि सोही प्रविधि निर्माण र प्रयोग गर्न थालेका हुन् । 

इलाम नगरपालिका–६ र वडा नम्बर–८ ले त आफ्ना वडाका ३० जना किसानलाई तालिम नै दिएर बाँदर धपाउने प्रविधिको सीप हस्तान्तरण गरेका छन् । यी वडाले शुक्रबार बाँदर धपाउने यन्त्र निर्माणको तालिम दिएर यन्त्र बनाउन र प्रयोग गर्न सिकाएका हुन् । इलाम नगरपालिका–५ का स्थानीय घनेन्द्र भट्टराईले झापामा हात्ती धपाउन प्रयोग भइरहेको प्रविधि र महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रमा राखेको यो प्रविधिलाई पछ्याउँदै बाँदर धपाउन प्रयोग गर्दा सफल भएको बताउनुभयो ।

“झापामा हात्ती धपाउन पनि सफल परीक्षण भएको रहेछ, त्यसलाई हामीले सिकेर वडा नम्बर ५ मा बाँदर धपाउन प्रयोग गरेका थियौँ, त्यो सफल भएपछि अन्य वडाका किसानलाई पनि यो यन्त्र बनाउन र प्रयोग गर्न सिकाइरहेका छौँ,” भट्टराईले भन्नुभयो, “पाइप, कार्बोट रसायन र पानीको प्रयोगबाट यो यन्त्र बनाउन सकिन्छ ।” 

बाँदर धपाउने यो यन्त्र बनाउन ११० एमएम र ७५ एमएमको पीभीसी पाइपलाई जडान गरी कार्बोट र पानीको रसायन मिलाउँदा निस्कने ग्यासलाई ग्यास लाइटरको प्रयोगले सल्काउँदा ठूलो आवाज निस्कने गर्छ । २० मिटरसम्म फैलने यो आवाजले बाँदरको कानको जाली दुख्ने र बाँँदर भाग्ने गरेको प्राविधिक भट्टराई बताउनुहुन्छ । यो प्रविधि प्रयोग गर्दा मान्छेले पनि कानको सुरक्षा अपनाउनुपर्ने भट्टराईको भनाइ छ । 

एउटा यन्त्र निर्माण गर्न दुई हजार रुपियाँदेखि दुई हजार पाँच सय रुपियाँसम्म खर्च हुने हुँदा वडा कार्यालयले कृषिमा छुट्याएको रकमलाई यो यन्त्र निर्माण गरेर किसानलाई वितरण गर्न थालेको वडा नम्बर ६ का वडाध्यक्ष मदन श्रेष्ठले बताउनुभयो । “बाँदरले किसानलाई पाकेको बाली मकैदेखि अन्य अन्न बाली, तरकारी र अम्लिसो घाँसका टुसासमेत खाएर दुःख दिएपछि बाँदर धपाउने विकल्प किसानलाई दिन थालेका छौँ,” श्रेष्ठले भन्नुभयो, “वडा नम्बर ५ मा यही प्रविधिको प्रयोगले बाँदर धपाउन सफल भएपछि हामीले पनि प्राविधिक ल्याएर किसानलाई तालिम दिएका हौँ ।” 

कन्याम सिद्धिगाउँका कृष्ण घिमिरे बाँदर र बँदेलदेखि हैरान भएको बताउनुहुन्छ । मकै, तरकारी, फलफूल, आलु, अलैँचीजस्ता बाली बाँदर र बँदेलले नस्ट गरिदिँदा घिमिरेजस्ता धेरै किसानको निद्रा हराएको छ । “दिनभरि बाँदर रुँग्यो, राति बँदेलले सबै सखाप पार्छ,” घिमिरेले भन्नुभयो, “खान सुत्नको कुरा छैन, पाकेको बाली सखाप पारेपछि के गर्ने कुनै उपायै चल्दैन ।” सूर्योदय नगरपालिका, इलाम नगरपालिका, देउमाई नगरपालिका, माईजोगमाई गाउँपालिका, सन्दकपुर गाउँपालिकालगायत स्थानीय तहमा बाँदर र जङ्गली जनावर बँदेलका कारण बसाइँ सर्ने अवस्था आएको किसानहरू बताउँछन् ।