चिनियाँ पाहुना पनि बढ्न थाले
गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १९ गते । सन् २०२६ को सुरुवातमै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या १५ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को जनवरीको तुलनामा यस वर्ष १५.७ प्रतिशत बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
गत वर्षको जनवरीमा ७९ हजार ९९१ पर्यटक नेपाल भित्रिएकामा यस वर्षको पहिलो महिनामै ९२ हजार ५७३ अन्तर्राष्ट्रिय आगन्तुकले नेपाल भ्रमण गरेका छन् । पछिल्लो तथ्याङ्क कोभिड–१९ महामारीपूर्व सन् २०१९ को जनवरी महिनासँग तुलना गर्दा भन्डै १४ प्रतिशतले बढी रहेको छ ।
सन् २०१९ को जनवरीमा ८१ हजार २७३ पर्यटक नेपाल आएका थिए । त्यस्तै सन् २०२४ को जनवरीमा ७९ हजार एक सय पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ ।
सन् २०२६ को तथ्याङ्क अनुसार पर्यटक आगमनमा शीर्ष स्थानमा रहँदै आएको भारतपछि चीन रहेको छ । कोभिडका कारण घटेका चिनियाँ पर्यटकको सङ्ख्यालाई भारतपछि अमेरिकाले उछिन्दै आएकोमा पछिल्लो समय चिनियाँ पर्यटकको आगमनमा समेत बढोत्तरी भएको छ । बोर्डका अनुसार यस वर्षको जनवरीमा भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका छन् । त्यसपछि चीनबाट नौ हजार १०१, अमेरिकाबाट आठ हजार ४०६, बङ्गलादेशबाट पाँच हजार ८१४ र अस्ट्रेलियाबाट चार हजार ९५७ पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा सार्क मुलुकबाट ३९ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यस्तै एसियाली देशबाट २६ प्रतिशत, युरोपबाट १२ प्रतिशत पर्यटक नेपाल भित्रिएका छन् ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अनुसार सन् २०२६ को पहिलो महिनाको तथ्याङ्कले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालप्रतिको विश्वास क्रमशः मजबुत हुँदै गएको सङ्केत भएको बताएको छ । पछिल्ला वर्षमा गरिएको गन्तव्य प्रवर्धन, हवाई सम्पर्क विस्तार, साहसिक तथा सांस्कृतिक पर्यटनप्रतिको आकर्षण र अन्तर्राष्ट्रिय बजारमा नेपालको छवि सुधार हुँदै गएकाले पर्यटक आगमन वृद्धि हुँदै गएको उहाँले बताउनुभयो । उहाँले पर्यटकीय गतिविधिमा भएको चहलपहल नेपाल लाइफटाइम एक्सपिरियन्स डेस्टिनेसनका रूपमा स्थापित हुँदै गएको जनाउनुभयो ।