ठाकुरप्रसाद आचार्य
म्याग्दी, माघ १८ गते। बेनी नगरपालिका–९, घतानको नेप्टेचौरमा सडक कालोपत्रे भएपछि गाउँको मुहार फेरिएको छ। करिब २६ वर्ष अघि ट्रयाक खुलेको यो सडक स्तरोन्नति सहित कालोपत्रे भएपछि स्थानीय खुसी भएका छन्।
स्तरोन्नतिसहित सडक कालोपत्रे भएपछि हिउँदमा धुलो र बर्खायाममा हिलोका कारण सास्ती भोगेका नेप्टेचौरवासीहरूको यात्रा सहज भएको छ। सडकमा गाडी गुड्दा उडेको धुलोले गाउँ नै छोपिन्थ्यो स्थानीयवासी रुद्रबहादुर चोखालले भन्नुभयो, ‘‘साँघुरो, जीर्ण र कच्ची सडकका कारण वर्षौसम्म गाउँलेले सास्ती भोगे। अहिले सडक फराकिलो हुनुका साथै कालोपत्रे भएपछि वर्षौ देखिको सास्ती हटेको छ। सडक कालोपत्रेले गाउँको मुहार नै फेरिएको छ।’’
स्थानीयवासी श्रीमती दर्जीले सडक कालोपत्रे भएसँगै धुलो र हिलोको समस्या हटेको, यात्रा अवधि छोटिएको, दुर्घटनाको जोखिम घटेको, झन्झट र कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको भन्दै खुसी व्यक्त गर्नुभयो।
कच्ची सडक हुँदा बेनी आवतजावत गर्न एक घण्टा लाग्नेमा अहिले १५ मिनेटमा सहजै पुग्न सकिने भएको उहाँले बताउनुभयो। पूर्वाधार विकास कार्यालयले बेनी–पाखापानी सडक योजना मार्फत बेनी नगरपालिका–९, भुतादैलादेखि नेप्टेचौर खण्डमा कालोपत्रे गरेको हो।

दुई किलोमिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्रे गर्ने काम सम्पन्न भएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा.महेन्द्र बानियाँले बताउनुभयो। कालोपत्रे भएको सडकमा रङ लगाएर डिलतर्फ बार राख्ने र ट्राफिक सङ्केत चिह्न राख्ने काम पनि अन्तिमचरणमा पुगेको उहाँले बताउनुभयो।
निर्माण व्यावसायीले प्रयाप्त मात्रामा उपकरण र मजदुर परिचालन गरी निर्धारित समय भन्दा चार महिना अगाडि योजना सम्पन्न गरे पनि रकम अभाव हुँदा भुक्तानी रोकिएको कार्यालय प्रमुख डा. बानियाँले बताउनुभयो।
बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले सडक कालोपत्रे भएपछि स्थानीयवासीहरूलाई बेनी सम्म आवतजावत गर्न सहज भएको बताउनुभयो। २०५६ सालमा तत्कालीन जिल्ला विकास समितिले मार्ग खोलेको यो सडक स्थानीय सरकार र सङ्घ तथा प्रदेशका जनप्रतिनिधिको पहलमा २६ वर्षपछि मात्र कालोपत्रे भएको उहाँको भनाइ छ।
बेनीदेखि भुतादैलासम्म करिब पाँच किलोमिटर सडक बेनी नगरपालिका र प्रदेश सरकारको योजनामा यसअघि नै कालोपत्र र ढलान भएको छ। बेनी–पाखापानी सडक निर्माणका लागि २०८१ साल जेठमा पूर्वाधार विकास कार्यालय र मङ्गगलादेवी–सुवास कन्ट्रक्सनबिच १० करोड १६ लाख एक हजार ३६४ रुपियाँमा ठेक्का सम्झौता भएको थियो।
चालु आवको जेठ मसान्त सम्म ठेक्काको म्याद भए पनि निर्माण व्यावसायीले चार महिना अगावै योजना सम्पन्न गर्न लागेको पूर्वाधार विकास कार्यालयका सब इन्जिनियर रविन चोखालले बताउनुभयो। तीन दशमलव पाँच मिटर चौडा सडकलाई कम्तीमा सात मिटर फराकिलो बनाइएको छ। यसै योजना अन्तर्गत रहेको नेप्टेचौर–तोरीपानी खण्डमा सडक फराकिलो, टेवा पर्खाल, नाली निर्माण, सडक ढलान र ग्राभेल गरिएको सब इन्जिनियर चोखालले जानकारी दिनुभयो।
तोरीपानीदेखि पात्लेखेत, झिँ हुँदै पाखापानीसम्मको सडक स्तरोन्नति गरी कालोपत्रे गर्न आगामी आर्थिक वर्षका लागि समपुरक योजनाका लागि करिब ३० करोड रुपियाँ बराबरको बजेट गण्डकी प्रदेश सरकार समक्ष प्रस्ताव गरिएको कार्यालय प्रमुख डा. बानियाँले बताउनुभयो।

सदरमुकाम जोड्ने यो सडक स्तरोन्नति भएपछि बेनी नगरपालिकाका वडा ६, ९, १० र रघुगङ्गा गाउँपालिकाका ५ झिँ र ६ नम्बर वडा पाखापानीका स्थानीयलाई सदरमुकाम बेनी आवतजावत गर्न सहज हुने छ।