काठमाडौँ, माघ १८ गते । चलचित्र पत्रकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ ।
ग्रान्डी अस्पतालले आइतबार दिउँसो १२:४५ बजे सिटौलाको उपचारको क्रममा सिटौलाको निधन भएको घोषणा गरेको हो ।
४५ वर्षीय सिटौला अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँका पूर्व मेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासि बेहोस हुनुभएको थियो ।
उहाँलाई तुरुन्त अछाम जिल्ला अस्पतालमा लगेर कार्डियोपल्मोनरी रेससिटेसन (सिपिआर) दिइएको थियो । ४५ मिनेट सिपिआर दिएपछि मुटुको चाल फर्किएको थियो ।
त्यसपछि उहाँलाई भेन्टिलेटरमा राखेर सेनाको हेलिकाेप्टरमार्फत तत्काल काठमाडौँ ल्याई ग्रान्डी अस्पताल भर्ना गरिएको थियो ।
ग्रान्डी अस्पतालको विज्ञप्तिमा “चिकित्सकीय प्रोटोकल अनुसार, मतिष्कको कार्य क्षमता परिक्षण गर्न एपनिया(श्वासप्रश्वास बन्द हुनु) परीक्षण गरियो जुन पोजेटिभ थियो जसले स्वत: श्वासप्रस्वास नभएको जनाउँछ । उहाँको १२:४५ बजे निधन भएको जानकारी गराउँछौँ,” उल्लेख छ।