भुवन कार्की
रूपन्देही, माघ १८ गते । आगामी फागनु २१ गते हुने प्रतिनिधि सभा सदस्य पदका लागि पाल्पा क्षेत्र नं. २ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेद्वार सोमप्रसाद पाण्डेले पाल्पाको तानसेनलाई सुन्दर पर्यटकीय ऐतिहासिक सहर बनाइने बताउनुएको छ ।
नेता पाण्डेले आइतबार बुटवलमा पत्रकार भेटघाटको आयोजना गरी आफ्ना चुनावी एजेन्डाहरू बताउनुभएको हो । पाल्पाको तानसेनलाई भक्तपुर जस्तै ऐतिहासिक पर्यटकीय सहर बनाउन चाहेको बताउनुभयो । तानसेनलाई लुम्बिनीसँग जोडेर बुद्ध गार्डेनका रूपमा विकास गर्न श्रीनगरमा बौद्ध मन्दिर बनाउने अवधारणा आफूले ल्याएको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘लुम्बिनीमा आउने पर्यटकलाई तानसेन ल्याउन र पर्यटकीय सहरका रूपमा यसलाई विकास गर्न तानसेनमा विशाल बौद्ध मन्दिर बनाउने अवधारणा मैले लिएको छु ।’ उहाँले पाल्पाको श्रीनगरलाई हिल स्टेसनको रूपमा विकास गरिने पनि बताउनुभयो ।
पूर्वमन्त्री समेत रहनुभएका उम्मेदवार पाण्डेले तानसेनसँग जोडेर माडीमा चक्रपथ निर्माण, हार्थोक–छहरा, तानसेन—पोखरा सडकको स्तरोन्नति लगायतका विकास निर्माणका काममा आफूले पहल गरिरहेको उल्लेख गर्नुभयो ।
उम्मेदवार पाण्डेले सिद्धार्थ राजमार्ग अन्तरगत शिद्धबाबामा सुरुङमार्ग निर्माणको पहल र प्रस्ताव सबैभन्दा पहिले आफूले गरेको भन्दै पहिलो पटक विं.सं २०७५ सालमा तत्कालिन अर्थमन्त्री युवराज खतिवडालाई प्रस्ताव पेस गरेको बताउनुभयो ।
सुरुङमार्ग निर्माणका लागि आफूले सडक विभागसँग समन्वय गर्दा विभागले सुरुङमार्ग सम्बन्धी विज्ञ इन्जिनियर नेपालमा नभएको बताएपछि आफूले स्वीजरल्यान्डका राजदुतलाई विज्ञ झिकाउन र सहयोग गर्न अपिल गरेर डिजाइन गरिएको पाण्डेले बताउनुभयो । स्रोत सुनिश्चित गरी बजेट व्यवस्थापन समेत गरेर हाल निर्माण भइरहेको सुरुङमार्गले तिनाउवासी मात्र नभएर पाल्पा आउनेजाने सबै यात्रुलाई अब सहज हुने उहाँले उल्लेख गर्नुभयो ।
नेता पाण्डेले पाल्पावासीसँग सुखदुःखमा सधै सँगै रहेको भन्दै पाल्पाली जनताको मतकोे सम्मान गर्ने र हारजित जेसुकै भए पनि जनतासँगै रहने बचनबद्धता व्यक्त गर्नुभयो । उहाँले पाल्पामा कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यको क्षेत्रमा थप नयाँ कार्ययोजनाका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो । आर्थिक पारदर्शिता, जवाफदेहिता र सुशासनको पक्षमा सधै काम गर्ने प्रयत्न आफूले गरेको भन्दै नेता पाण्डेले भविश्यमा पनि समय सहाउँदो विकास निर्माणका काममा आफूले हरसंभव प्रयास गर्ने प्रतिबद्धता गर्नुभयो ।