• १८ माघ २०८२, आइतबार

दाङमै क्यान्सर उपचार सेवा

blog

दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सर उपचारको तयारी हुँदै ।

सन्तोष दहित 

दाङ, माघ १८ गते । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सर उपचार सेवा सुरू हुने भएको छ । प्रतिष्ठान र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबिच आइतबार सम्पन्न सम्झौतापछि दाङमै क्यान्सर उपचारको बाटो खुलेको हो।

सम्झौतामा प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्साल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौता प्रतिष्ठानका निमित्त डिन प्राडा. रमेश कडेल र क्यान्सर अस्पतालका सहनिर्देशक डा. उमेश नेपालको उपस्थितिमा सम्पन्न भएको हो।

सम्झौता अनुसार क्यान्सर उपचार सेवा विस्तारसँगै जनशक्ति आदानप्रदान पनि गरिने छ । सम्झौता कार्यान्वयनमा आएपछि साबिक राप्ती अञ्चलसहित सम्पूर्ण पश्चिम नेपालका नागरिकलाई घर आँगनमै क्यान्सर उपचार सेवा प्राप्त हुने सुविधा हुने प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. लम्सालले बताउनुभयो । यसअघि क्यान्सर उपचारको सुविधा नहुँदा यहाँका नागरिकलाई उपचारका लागि राजधानी वा अन्य ठाउँ जानुपर्ने बाध्यता रहँदै आएको थियो ।