• १८ माघ २०८२, आइतबार

उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

blog

काठमाडौँ,  माघ १८ गते ।  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २ बाट उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरलाई स्थानीय जनताले वन्यजन्तु-मानवबिचको द्वन्द्व व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका छन् । 

मतदातासँगको अन्तर्क्रियामा स्थानीयले बाँके र बर्दिया निकुञ्जका कारण दिनहुँजसो जङ्गली जनावर बस्तीमा पस्ने, हिंस्रक जनावरको आक्रमणबाट मानिसको मृत्यु हुनेलगायत घटना बढिरहेकाले वन्यजन्तु-मानव द्वन्द्व प्रभावकारी रूपमा व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका हुन् ।

बाँके र बर्दियाका मध्यवर्ती क्षेत्रसहित आसपासका नागरिकले असुरक्षित महसुस गरेकाले कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार राठौरसँग विद्यमान समस्या समाधानका लागि पहल गरिदिन माग गरिएको ठाकुरबाबा नगरपालिका-३ का कमानसिंह साउदले बताउनुभयो ।

अन्तर्क्रियामा नेता राठौरले पछिल्लो समय मानव र जनावरबिचको द्वन्द्व व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएको बताउँदै यसका लागि आफूले सरोकार भएका निकायसँग छलफल र समन्वय गरी समाधानको पहल गर्ने प्रतिबद्धता जनाउनुभएको उहाँले निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार नेता राठौरले स्थानीय जनतासँग भेटघाट, अन्तर्क्रिया गर्नुका साथै सुझाव पनि सङ्कलन गरिरहनुभएको छ ।

स्थानीय कौशिला टमटाले यसअघि बर्दियाको विकासका पहल गर्नुभएका नेता राठौरले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, कृषकका समस्या, सडक, पुलपुलेसालगायत विषयमा रहेका समस्या समाधानका लागि योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको उल्लेख गर्नुभयो । 

हालसम्म मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन, कृषकका समस्या, सडक स्तरोन्नतिलगायत समयसामयिक विषयमा सुझाव सङ्कलन भएको ठाकुराबाबा नगरपालिकाका प्रमुख एवं कांग्रेस नेता तिलक लम्सालले बताउनुभयो । कांग्रेस नेता राठौर २०७९ को प्रतिनिसभा सदस्य निर्वाचनमा बाँके-३ बाट २९ हजार ४० मतसहित विजयी हुनुभएको थियो । रासस