• १८ माघ २०८२, आइतबार

तनहुँमा ‘निर्वाचन प्रहरी’ को विशेष तालिम सुरु

blog

तालिमको उद्घाटन कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी लगायत । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, माघ १८ गते । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गराउने लक्ष्यका साथ तनहुँमा निर्वाचन प्रहरीको आधारभूत तालिम सुरु भएको छ। गृह मन्त्रालयको विज्ञापन बमोजिम विभिन्न छनोट प्रक्रिया पार गरी आएका युवा जनशक्तिलाई निर्वाचन सुरक्षाका लागि योग्य बनाउन आइतबारदेखि जिल्लाका विभिन्न स्थानमा सघन प्रशिक्षण कार्य अगाडि बढाइएको हो ।

व्यास नगरपालिका–५ स्थित पाटन खेल मैदानमा आयोजित एक विशेष समारोहकाबिच जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले तालिमको उद्घाटन गर्नुभयो। सो अवसरमा तिवारीले निर्वाचन लोकतन्त्रको महाकुम्भ भएको चर्चा गर्दै यसको संवेदनशीलतालाई मनन गरी अत्यन्तै जिम्मेवार र अनुशासित ढंगले प्रस्तुत हुन प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो । उहाँले राष्ट्रले सुम्पेको यो महत्वपूर्ण जिम्मेवारीलाई कर्तव्य र अवसरको रूपमा लिँदै नागरिकको सुरक्षा र चुनावी मर्यादा कायम राख्न निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिनुभयो।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर कार्कीले तालिमको पाठ्यक्रममाथि प्रकाश पार्दै यस अवधिमा प्रशिक्षार्थीहरूलाई सुरक्षा व्यवस्थापन, भीड नियन्त्रण, कानुनी प्रावधान र निर्वाचन आचारसंहिताका बारेमा गहिरो सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिने जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभरका प्रशिक्षार्थीहरूको सहजताका लागि पाटन खेल मैदानसँगै इलाका प्रहरी कार्यालय आँबुखैरेनी, बेलचौतारा, भानु र बन्दीपुरमा पनि तालिम केन्द्रहरू तोकिएका छन् । 

तालिम सम्पन्न भएलगत्तै यो दक्ष जनशक्तिलाई जिल्लाका विभिन्न मतदान स्थल र केन्द्रहरूमा सुरक्षाका लागि परिचालन गरिने योजना रहेको छ । जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा सुरक्षा निकायका प्रशिक्षकहरूको उपस्थिति रहेको उक्त कार्यक्रमले निर्वाचनका लागि आवश्यक सुरक्षा तयारीलाई थप मजबुत बनाएको छ ।